कविता

अक्षर अनी शब्दको,                              
शब्द अनी शब्दाडम्बरहरुको
सफल सम्मेलन पछी
शक्त चर्चा प्रयास:
षोडशी शर्मालु स्त्रिको,
पूर्ण शशिको, शशिकलाको
शुन्यबाद, शुन्यकाल र शुन्यशान्यको ।
अनी त,
मीठो सम्योजन फेरी
तिनै शब्दशक्तिहरु,
‘अभिधा’, ‘लक्षणा’ र ‘व्यन्जना’ को
र जन्म एउटा:
शषरा तर शरीफ कविताको …
मौन तर चुलबुले कविको …

जुन

त्यो                                             
चाँदनी रातको
शीतल आभासँग
बिगत कोट्टिएपछी,
मन साह्रै एकोहोरो हुन्छ,
भित्रभित्रै दुख्छ
र यादको अँगेनोमा
मायाको अगुल्टो
हुरहुरी बल्न थाल्छ,
अनी त;
आफैँलाई सिध्याउँछ कि !!!
मलाई अनौठो डर लाग्छ ।
र यो फीक्का जिन्दगीको
अम्मली म,
यसोतसो
घिस्रिने कोसिस गर्छु,
टहलेर त्यही
स्निग्ध, कोमल जुनको
छर्लङग अनुहार …

गजल

फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।

समयको गतिसँगै मन एकोहोरो भएपछी,
तारा गन्दै रातमा शुन्यसँग बोल्छु अचेल ।

भित्री पीडा जिन्दगीको काव्यपान काँहा हो र
तैपनी व्यथा सबै गजलभित्र खोल्छु अचेल ।

पलपल श्वास फेर्न चुरोटनै चाहिएपछी,
गर्वसाथ आफुलाई रु पाँच मोल्छु अचेल ।

फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।

कुकुरहरु

एक हुल कुकुरहरु हिजो
कुकुरहरु, बधशाला वरपर
राल काढिरहन्थे ।
भोको पेट तग लगाउन,
चर्पी छेउ
नाक डुलाउँथे ।
केवल कर्तिकमा बोका हुन्थे ।
तर आज,
तिनै कुकुरहरु
सिँहदरबार वरपर
राल काढछन ।
भन्सार भित्र
नाक डुलाउँछन,
बारै मास तरुनी खेतीमा
मस्त हुन्छन् ।
समयको शक्ति हो की
तिनिहरु भित्रको क्रान्ति यो !!!
साच्चै बुझिनसक्नु भए
ती एकहूल कुकुरहरु ।

गजल्

गुमाइसँके जिन्दगीका ती चाँदनी रातहरु ।
बेदनाले छटपटिँदा साथ दिने हातहरु ।

उराठलाग्दो भयो जीवन, बुढो त्यो पिपल झैँ
बसन्तको सँघारमै झरे कोमल पातहरु ।

थाहा पाएँ अदभुत शक्ति, तिम्रो मीठो प्रितको
बुझ्ने को होला र अब म भित्रका उन्मादहरु ।

भाग्यको लीला थियो की, समयको कुनै चक्र त्यो
चोटपनी मीठा लाग्थे पाउँदा तिम्रा साथहरु ।

सुखी छैन मन मेरो, साँच्चै केही नपाएजस्तो
बियोगमै रमाउनेछु म, आओ न यादहरु ।

त्यो कथा र पात्रहरु

त्यो रात
साँच्चै अँध्यारो थियो,
चुक घोप्टाएजस्तो ।
साँच्चै सुनसान थियो,
मसानघाट जस्तो ।
टाढा, धेरै टाढा
एकहूल कुकुरहरु
भुकेजस्तो गर्थे ।
म,
त्यही उकुसमुकुसभित्र रुमल्लिएर
कथाको पात्र खोज्दैथेँ ।
आँशु झार्दै,
चित्कार सुनाउँदै
मैँ सामुन्ने आए;
एकहुल बलात्‍कृत गौरीहरु ।
टपरी थाप्दै,
भोको पेट निचोरेर
मुर्दाबादको पासोमा सेरिदैँ आए;
अछाम, बैतडी र डोटीका
प्रकोप पीडितहरु ।
हाम्रो अस्तित्व खोई ???
माटोको बेईज्जत भयो ।
बलिदानको इतिहाँस खोक्रो रैछ,
लाल-लाल बन्दै आए,
सुस्ताका युवाहरु ।
परिचय चाहियो
त्यसैले,
नागरिकताको माग गर्छन् ।
बाँच्नु छ, इज्जतसाथ
एकमुठी माटोको आश गर्छन् ।
निर्णायक आन्दोलन भन्दै,
म भित्र पसे;
कैँयौ भुटानी शरणार्थिहरु ।
सास फेर्ने
बैकल्पिक उपाय सोध्दै आए,
सिन्धुपाल्चोकको भिडन्तमा
गोली लागेर
नाक उछिट्टिएका
अबेला योद्दाहरु ।
१९ दीने जनआन्दोलनपछी,
जीउँदो मुढो बनेका
अमर मुकेशहरु ।
साँच्चै,
अब म ठुलो भीडमा परेँ ।
सुनसान रात छ तर,
कोलाहलमाझ परेँ ।
तातो रातो भएँ ।
बेगमका थप्पडहरु
र यादवका ट्वाईलेट सम्झेँ ।
प्रजातन्त्र, लोकतन्त्र
र गणतन्त्रको क्रमिकता सम्झेँ ।

अनी त
निबले कपिको पन्ना कोतारेँ मात्रै ।
रिसले दाँत रगडेँ मात्रै ।
तर,
कथा थाल्न सकीँन,
मैँले पात्र छान्न सकीँन ।

बेश्या र लोकतन्त्र

थाहा छ ?
सुन्दरीको इच्छा हुनुपर्छ,
उ एक निमेशमा
मात्र एक निमेशमा
सफल बेश्या हुन सक्छे ।
समाजमा तुहिन सक्छे,
परिवारमा चुहिन सक्छे ।
बैँशको तिक्ष्ण कटाक्षले
मोहनिमा भुलाएपछी,
रजस्वलाको प्रथम चरणमा नै
कठिला छाती
भुकभुक उम्लेपछी
थामिनसक्नु भएपछी,
साँच्चै भद्रगोल हुन्छ;
सुन्दरी, फगत सुन्दरी रहन्छे:
मीलेको मासुको थुप्रोको,
हड्डीले बनेको सानो पोथ्रोको
जसमा त्राश हुन्न, आश हुन्न
मात्र सास ।
हो, यस्तै छ
यहाँको लोकतन्त्र,
भनाउँदो लोकतन्त्र
सफल बेस्याको
उपाधी लिन
बेश्यालयको सिँढी उक्लदै छ ।
ती नियमित ग्राहक
अर्थात
सामाजमा छारो हानेर
बनेका भोका नेताहरु
बालीकामै कौमार्य लुटिएकी
त्यो अबेलालाई,
थप खोस्रदै छन् ।
अगाडिबाट, पछाडिबाट
मुखबाट , जहितही
बलात्कार गर्छन;
ठ्याक्क्कै पाश्चात्य शैलिमा
र कोही भने चरम उत्कर्शमा पुगेपछी
उसको अनुहार हिलाम्य पार्छन,
र सन्तोषको सास फेर्छन;
पालो पाएनन भने,
नेपाल बन्द गर्छन,
तोड्फोड गर्छन,
चक्काजाम गर्छन ।
तिनीहरु,बच्चामा उसलाई
‘प्रजातन्त्र’ भन्थे ।
बैँशको प्रगतिसँगै
समयको अन्तरालपछी
उसको नाम फेर्दिए:-
‘लोकतन्त्र’
डर लाग्छ,
फेरी यसको भयानक मृत्‍युपछी
जनतालाई के का लागि
भुमरीमा हाल्ने हुन,
ठोकतन्त्र, रोकतन्त्र,
जोकतन्त्र,
या अरुनै केही !!!

गजल

भोको अघोरी बोकोजस्तो ठमेलको बर्बर त्यो
चुपचाप मोल्छ केटी, आहा! कती मीठो डर त्यो

देखाउँदै मोटो खल्ती, फिक्स गर्छ एक रातलाई
बैँशमत्त पुरुषको क्या घिनलाग्दो रहर त्यो

लुरुलुरु जान्छे केटी, एउटा बन्द कोठातिर
इच्छा र बाध्यता, दुइ जवानीको क्या अन्तर त्यो

पैसाको आविष्कार, सहमतिको बलात्कारपछी
कहाँ खोजोस त्यो अबेलाले आफु बुझ्ने नैहर त्यो

पैसाले जवानी त के, सत्य पनि किन्दो रहेछ
नत्र किन भन्थ्यो मन्त्री, “बिना बेश्याको शहर त्यो”

ल, भुन्टेकी आमा ल


भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
तिमी मेलापातमा जाउ,
म भुन्टे फकाउँछु
खाजा तुल्याउँछु
घर सफा गर्छु
फुर्सद भयो भने,
बरु सिनेमा हेर्दिन्छु ।
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
इराक पड्किरहँदा,
छटपटिदैँ पिडाबोध गर्दिन ।
श्रिलंका डढीरहँदा,
“नाक पिरो भो” भन्दिन ।
अभाव र चित्कार सुन्दा,
लंगडो भइदिन्छु ।
छिमेकमा बन्दुक पड्कदा,
बहिरो भईदिन्छु ।
छोरीचेली बलात्‍कृत भए,
अन्धो भईदिन्छु ।
यो अत्याचार र शोषण
सजिलै सहिदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
भित्र रुदैँ बहिर
गदगद भईदिन्छु ।
संसार यस्तै रहेछ,
म चित्त बुझाईदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।
ल, भुन्टेकी आमा ल …