म इन्जिनियर होइन

खै के हुन्छ, हुन्छ; जब ईक्जाम आउँछ अनी मलाई खुब साहित्यिक हुन मन लाग्छ । मनभित्र गुम्सिएर रहेका उकुसमुकुसहरु ह्वात्तै बाहिरिन खोज्छन । घोत्लिएर समय काट्छु । घर, कोठा अनी आफ्नो आन्तरिक या बाह्य, दुवै परिवेश, कत्ती पनि जाती लाग्दैनन । कोठा त्यसै-त्यसै फोहोर जस्तो लाग्छ । बाहिर निस्कन्छु; सायद आफु हतारमा हुन्छु होला, अनी सारा संसारनै हतारिएको भान हुन्छ । सडकमा घिस्रिरहेका मानिसहरु हेर्छु, सबैको हालत मेरो भन्दा फरक, बिल्कुल फरक जस्तो लाग्छ । निस्सार जीवन त मेरो मात्रै होला, म चुरोटको धुवाँसँगै यस्तै यस्तै सोच उडाउने गर्छु । त्यो उड्छ, अनन्त आकाश छुन, त्यसको उडाईसँगै म वर्तमान जिन्दगीका उलटपुलट किरणहरु अन्तै परावर्तन गर्ने भरमग्दुर प्रयास गर्छु । मेरो सुदुर भबिष्य अन्योलग्रस्त छ । पूर्णतया अनिश्चित । यो सम्झँदा पनि मन भारी भएर आउँछ । फेरी आफैँलाई सम्झाउने प्रयास गर्छु । कस्को चाँही भबिस्य फिक्स हुन्छ र, सबै पीडित छन, यो दु:खै दु:खले भरिएको गुह्य जिन्दगी बिताउने तँ मात्रै कहाँ हो र !

भोली ईक्जाम छ; Instrumentation II को । सातौँ चोटि दिदैँ छु । पढेकै छु क्यारे । च्याप्टर टु को प्रोग्राम बाहेक अरु त आउँछ नि ! मन ढुक्क पार्ने प्रयास गर्छु । अर्को मनले भन्छ; त्यो प्रोग्राम पनि पढ, भोली त्यही मात्रै आयो भने के गर्छस । एक्कासी मनस्थिती शिथिल भएर आयो । उठेर घोकुँ कि । तर हैन, छाड्दे, पास फेल कहाँ सत्य हो र । तिनिहरु त सत्याभास मात्रै हुन । समाज चलाऊन मानिसले बनाएका साला कुनियमहरु । म कोल्टे फर्कन्छु । आज निद्रा लागि’रा छैन । भोलिको लागि चाहिने फर्मुलाहरु, डेरिभेसनको स्टेप्सहरु सम्झनु नि । म किन यो थोत्रा दर्शन पट्टी लागिरा छु । किताबका कुनै पनि कुराहरु मगजमा छैनन । आफ्नो आँखा अगाडि पढिसकेका उपन्यासका पात्रहरु कराउन थाल्छन, बिचारहरु नाँच्न थाल्छन । उठेर छतमा जान्छु , बिलाउन नसकेर टिल्पिलाइरहेका एक दुई तारालाई हेर्दै आफुलाई अलिकती बिर्साउन खोज्दै दुई खिल्ली चुरोट एक सासमा भ्याईदिन्छु । परिस्थिती सहज भएझैँ लाग्छ । घडी हेर्छु; रातले दोश्रो प्रहर आधी पारिसकेछ । म एक्कासी तर्सन्छु, लौ न सात बजे त पुल्चोक पुग्नुछ । अनी रातलाई आँखा चिम्लेर जसोतसो पन्छाउने प्रयास गरेँ ।

भोलिपल्ट गर्हुगोँ पाहिलासाथ बोझिलो मन र एकचिम्टी आश लिएर पुल्चोक क्याम्पसको प्राङगणमा पुगेँ । वरिपरी आफुभन्दा दुई तीन ब्याच जुनियर भाईबहिनिहरु भेटिए । आफ्नै पालाका साथीहरु त धेरै कम थिए, एउटालाई टिप्न भ्याएँ अनी लुसुक्क अलिकती माथि सेर्पा दिदिको चिया पसलमा गएँ । त्यहाँ हामी दुईले एकछिन छलफल गर्यौ । साथीहरुको चर्चा भयो । उसले भन्यो: भुवन त अहिले NCELL को सिनियर ईन्जिनियर रे नि । सजला केईसीको HOD भैरे नि । बाँकी साथीहरु पनि खासै कोही नेपालमा छैनन । दिपेश पनि लेनोवोको सर्किट डिजाईनर भयो रे नि । जे होस प्राय केटाहरुले राम्रा राम्रा काम पाएछन यार । हामी मुला चाँही यही सड्ने भयौँ । तँलाई थाहा छ; अब चार चोटि भन्दा बढी त ईक्जाम दिन पनि पाईन्न रे नि । उसले अनुहार बिगार्दै धुवाँमा आफ्नो मलिन अनुहार छोपेर बस यती भन्यो । मलाई भने अनेकौं बिकिरणहरुले एक्कासी छोपेझैँ भएर आयो । “वास्तबमा एउटै पेपरको इक्जाम धेरै चोटि ह्यान्डल गरेपछी कन्फिडेन्स भन्ने कुरो मजाले मर्दोरैछ है” मैले समर्थन पाउने आशमा उसतिर हेर्दै भने । प्रतिउत्तरमा उसले मुन्टो हल्लायो । “तर छाड्दे, एकचोटी त हाम्रो पनि पास हुने दिन आउला नि ! अनी हामी पनि ‘जव’ पाउँछौ कि ?” मैंले परिस्थितीमा बिस्मायाधिबोधक र प्रश्न-चिन्ह एकैचोटी लगाईदिएं । “खै यार, तेरो स्थिती त सुध्रेला कि ! मेरो त उस्तै हो । ” आफुलाई साह्रै निरिह पर्दै उसले यत्ती भन्यो । चुरोट पिउँदै एकदुईवटा नयाँ कोईसनको बारेमा चर्चा गरेर हामी इक्जाम हलतिर लाँग्यौ । हामी पुग्दा इक्जाम सुरु भइसकेको रैछ । कपी लिदैं थिएं । चिनेको एकजना भाईले, म तिर हेरेर मुखमन्डल ज्यादै नमजाले बिगारयो । मैले सोचें; साला, यो चोटि पनि लास्टै आँडे पेपर बनाएछ कि क्या हो, फेरी गुल्टेला जस्तो छ । जे होस्, एकचिम्टी आश लिएर मैले आफ्नो सिट समाँते । कोईसन पेपर हेर्दै थिएं; एक नम्बरको त सजिलै लाग्यो । TU को इक्जाममा बिशेषत: इन्जिनिएरिङ्गमा, सबै प्रश्न स्वात्तै पढिहाल्नु हुन्न । होपलेस भइन्छ । पढाई जस्तो होस; पेपर त गजबको बनाउँछ TU ले । मैले पछाडिका प्रश्नहरु त्यतिखेर पढ्दै पढिन । जबर्जस्ती आफ्नो मगजले भ्याएसम्म दुइ’टा प्रश्न गरेर भ्याएं । एक घण्टा बितिसकेछ । मैले टाउको उठाएँ; तुरुन्तै मेरो साथी त कपी बुझाएर मतिर एक फिक्का नजर मिल्काएर निस्कियो । अरु पनि निस्कने तरखर गर्न थाले । एक्कासी कोठामा म’सहित मात्र चारजना भयौं । तिनिहरु धमाधम लेख्दै थिए । म के गरुं मैले सोच्न सकिन । पछडिका बाँकी प्रश्नहरु पढें । चारवटा त मैंले नपढेको च्याप्टरबाट सोधेको रै’छ । अरु पनि सबै कन्सेप्चुअल । एक्कासी टाउको भारी भयो । केही लेख्न मन लागेन । एकैछिनमा सायद इक्जाम सेक्सनको ठुलोबडो भनौंदो आयो । “पर्स, मोबाईल त खल्तिमा छैन नि ?” उसले नयाँ प्रश्न दियो । मैले खल्ती छामे । वास्तवमा मेन्टल प्रेसर बढी भएर होला, प्रथम पटक मैंले मोबाइल र पर्स खल्तिमै राखेर इक्जाम दिन थालएको रै’छु । त्यसले चाल पाईहाल्यो । सालाका आँखा गिद्दका भन्दा तिखा छन । मैले मनमनै सोचें । उ हान्निदै मेरो छेउ आयो । पर्स, मोबाइल र कपी तिनैथोक खोस्यो । “सामन लिन, एक्जाम पछी डिन कार्यालय आउनु ” बाहिर निस्केपछी मतिर हेरेर ईशाराको भाषामा बस यती भन्यो ।

बोझिलो पाईलासाथ म भने तुरुन्तै अघिकै चियापसलमा पुगें । मेरो साथी कैयौ दिनको भोको जस्तो गरी चुरोट पिउदै थियो । “बहुत प्यास लाग्यो यार” मैले भनें । “पिर नगर, कोदोको पानी मगा’को छु ।” उसले काउन्टरतिर हेर्दै अलिकती रुन्चे हाँसो लिएर जवाफ दियो । “मैले त्यस्तो प्यास भनेको हो त !” मैले भने । “छाड्दे, मैले तलाई नचिनेको हो र । तँ जातले मात्रै त बाहुन होस नि ।” उ खिस्स हाँस्यो । सेर्पा दिदिले तुम्बा अनी अरु अरु पनि दुई जग लिएर आइन । क्रमस: हामी भरिदैं गयौं । अलिकती परिवर्तन पाएपछी मैलें भनें: “केटा, यती बिहानै, त्यसमाथी खाली पेटमा, असर त गर्दैन नि !” “त्यस्तो हैन, पेट खाली भएर क् भो त ? निराशाका काला बादलले हाम्रो भबिस्यका गेट त बन्द गरेका छन नि ।” एक गिलास सिनित्त पर्दै अर्को हातमा चुरोटको ठुटो समाउदै उसले मात्तिएको झिनो स्वरमा उत्तर दियो ।लगभग एक डेढघन्टा त्यता बिताएपछी फेरी पुल्चोक कलेजतिर लाँग्यौ । त्यसबखत मेरो भन्दा उसको हालत ज्यादै अनौठो थियो । समाएन भने बाँकाटे हान्न थाल्थ्यो । बाटमा केटी देखे मुख हेरेर खिस्स हांस्थ्यो । डिन कार्यालयमा हाम्रो हालत देखेपछी त्यहाँका कर्मचारीहरुले केही नबोली अघिका सामन फिर्ता दिए ।

“कहाँ हराएको दिनभरी ?” घरपुगेपछी बैनीले सोधी । “मर्निङ वाक” मैले उत्तर दिएं । भन्न त मिल्दैन होला तर त्यो समयमा उ पाँच छक्क परेकी थिई । मलाई बहुत थकाई लागेको थियो । बिहानको ह्याङओभर पनि अली अली जिउदै थियो । त्यसैले चाँडै नै सुत्ने तरखर गर्न थाँले । मनमा अनेकौँ कुरा खेल्न थाले । के म यो जन्ममा इन्जिनियर हुन सक्दिन ? किन सम्पूर्ण सम्भावनाहरु समयसंगै झनझन क्षिण हुँदै गैइरहेछन ? लाग्छ; मैले यो बिषय नै छान्न नहुने । इलेकट्रोनिक्स जो पायो त्यहिले पढ्ने बिषय हो र ! यसको लागि त मीठो लगाव चाहिन्छ, नियमित परिश्रम चाहिन्छ । तर यस्ता कुरा सोचेर मात्रै पनि अब के गर्नु र ! नपर्नु खाल्डोमा परिहालियो । तर हरेस खान हुन्न । भनिन्छ नि; मानिस सधैं आफ्नो लक्ष्य नजिक पुगेर फर्किन्छ । मलाई पनि यि निराशाका प्याकेटहरुले त्यही बिन्दुमा पुर्याउदै त छैनन नि । अर्कोचोटी फेरी मजाले पढेर इक्जाम दिए त पास कसो नभईएला र ! मैले निखुर रातमा सुन्यताको साथ लिएर आफुलाई दरो बनाउने कोशीस गरें ।

समय आफ्नै लयमा बित्दै थियो । साथीभाईले नयाँ-नयाँ ठाँउमा जव पाएको समाचार मेरो पनि कानमा ठोक्किईरहन्थे । कसै-कसैले बिदेशको भिषा पनि भेट्टाईरहेका थिए । कोही-कोहिको अनेकौ शिर्षकमा आयोजित पार्टिको पनि फाट्टफुट्ट निम्तो आईरहन्थ्यो । म भने सबै संग लुकेर हिंड्न खोज्थें । आफन्तहरुले भेट्टाईहाले सिनियर दादाको कन्सल्टेन्सिमा काम गर्दै’छु भन्दिन्थे । ज्यादै दु:खसाथ कटाएं, त्यसताकाका ति छ महिना । बिचमा त्यही बिषयको ईक्जामको लागि मैले पनि फर्म भरेको थिएँ । यसपली अलिक बिसेस तयारी गरें । मेरो साथी र म प्राय: संगै बसेर पढ्थ्यौ । भाग्यले अन्तमा साथ दियो भन्नुपर्छ । हामी दुबइले बत्तिस हान्यौ यानिकी पास भयौँ । त्यो समयमा हामी यती खुशी थियौं; बिचरा यि शब्दहरु निरिह छन, कसरी ब्यक्त गरुन । त्यही साँझ बा लाई पनि फोन गरें । “ल ल मेरो इन्जिनियर छोरा, बधाई छ । अब काम खोजेस, टन्न कमाएस, बुहारी भित्रायस अनी हामीलाई सुखसाथ राखेस ।” बा ले आफ्नो खुशी यस्तै यस्तै शब्द मार्फत व्यक्त गरे । त्यो साँझ बुहारी भन्ने शब्दले मलाई मन्द काउकुती लगायो । जीवनले नयाँ मोड लिन खोजेजस्तो भान भयो ।

भोलिपल्ट सुर्यको किरणसंगै हिजोअस्तिको भन्दा भिन्नै मन लिएर उठें । आफुलाई साह्रै ताजा र हल्का महसुस गरें । त्यसैदिन बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा गएर ट्रान्स्क्रिप्टको लागि अनुरोध गरें । आफ्नो कलेजमा सम्पूर्ण क्लिअरेन्स गराएँ । क्यारेक्टर सर्टिफिकेट पनि लिएं । नमीठै लागे पनि टिचरहरुको बधाई खाएं । यसपछी अब मेरो जिन्दगीको अर्को यात्रा सुरु भयो । जवको लागि थुप्रै ठांउहरु चहार्न थालें । बिदेश गैहाल्ने स्थिती मेरो थिएन । दिनसँगै मन कमजोर हुन खोज्दैथ्यो । आफुलाई जबर्जस्ती बाँध्दै नयाँनयाँ ठाउँमा नयाँनयाँ आश लिएर CV र सर्टिफिकेटको कपी छोड्न थाँले । कतैबाट पनि केही प्रतिकृया आएन । म झन्झन निराश हुँदै गएँ । साँझ एक टाईम SLC का विध्यार्थिलाई ट्युसन लिएर आफ्नो खर्च टार्न थाँले । अब भने घरबाट विवाहको कुरो चल्दा म आँफैनै तर्किएर हिड्थें । यसरी नै बिते मेरा त्यसपछिका छ महिना, एक बर्ष, डेढ बर्ष । साथीभाईहरुपनी अब त धेरै पर भईसकेका थिए । ईन्टर्नेट पनि धेरै काम युज गर्थें । एक हिसाबले भन्नुपर्दा म जीवनका सबै पक्षदेखी ज्यादै नराम्ररी थाकेको थिएं । साँझ-साँझमा बढी नै पीउन थालें । एक्लै-एक्लै फोहोर नदिका तिरहरु चाहर्दा रमाइलो लाग्थ्यो । त्यतैतिर टहलिन खोज्थें ।

एक साँझको कुरो हो । म ढिला घर आईपुगें । ब्यागमा CV र ट्रान्सक्रीप्टको कपी थियो । कोठाको एक कुनामा फाल्दिएँ । अनी क्यान्डिल लाईटमा Derek Humphry को “Let me die before I awake” को पन्ना पल्टाउन थालेँ । अक्षरहरु रक्ताम्य देखेँ । Paulo Coelho को “Veronica Decides to Die” को सुरुसुरुको अध्यायको आँफैले रेखाकिंत गरिराखेका केही वाक्य फेरी पढें । मन झन भारी भयो । गोविन्दराज भट्टराईको “सुकरातका पाईलाहरु” पल्टाएँ । आफु नै ‘अनन्त’ जस्तो लाग्यो । “The Bell Jar” झिकें । बस झिकें मात्रै अनी Sylvia Plath लाई मनमनै सोल्युट गरें । जीवन त यही लेखिकाले भोगेकी हो । वास्तविक सत्य सायद महाशुन्य नै हुनसक्छ । सिलिङ्तिर हेरें । केही थिएन । लोडसेडिङ्को मध्य समय थियो । मैनबत्ती मलाई उज्यालो दिन आफुलाई खत्तम पार्दै थियो । बाहिर झ्याउँकिरी कराएको प्रष्ट सुनिन्थ्यो । धेरै टाढा एक हुल कुकुरहरु एकनासले भुकिरहेका थिए । म झनझन आफुलाई बोझिलो अनुभब गर्दै थियो । निस्सार त उसै थिएं, झनै निस्सार अनुभुती गर्न थालें । एक्कासी चिच्याउझैँ भएर आयो । छतमा गएं; दुई खिल्ली चुरोट भ्याएँ अनी खै के जोश आयो । ओरिजिनल ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट लिएर म चुरोट पिउदैँ घर नजिकैको गल्ली निर गएँ । अनी ति दुवैलाई लाईटरको भारी सहयोग लिएर अन्त्य गरिदिएँ । हेर्दै थिएँ; मेरो सात बर्षको कमाई बिस्तारै खरानी भयो । मनमनै सोचेँ, संसार भौतिक छ, साह्रै भौतिक । आफु सकिएपछी मानिसलाई पनि त जलाइन्छ । कि गाडीन्छ । त्यो भनेको जीवन उपयोगहिन भएपछी हामीले लिएको या समयले दिएको अनौठो बिकल्प हो । मरेको बस्तु सजाएर घरमा किन राख्नु , बेकार घर गन्हाउँछ, मन गन्हाउँछ । त्यो प्रमाणपत्रको पनि अब के काम थियो र ? उपयोगहिन थ्यो । जलाएर ठीक गरेँ ।

त्यो खरानी भएपछी तन मन दुवै हल्का भयो । कसैको बारे केही सोचिँन । मलाई भोलिको मतलब छैन । समय जसरी कटोस । समाजले जे भनोस । बाले गाली गरुन या नगरुन, मलाई बाल । तारा हेरेँ । भुईँमा हेरेँ । आफ्नै हत्केलामा थुक्न खोजे तर थुकिनं । फेरी किन हो कुन्नी खिस्स हाँसे । अनी ठुलै स्वरमा चिच्याउँदै घरतिर लाँगे । “अब म इन्जीनियर होइन, म इन्जीनियर होइन, म इन्जीनियर होइन…… ” घरछेउमा पुगेपछी हातको ठुटो चुरोट फल्दिएँ अनी कुल्चदैँ मनमनै सोचेँ: “धन्न, आफुलाई काउन्सिलमा रजिस्टर गरेनछु….. !”

तँ र म

सत्य !
हिजोआज, लाटो ऐना अगाडि
म आँफैलाई ‘म’ मन पर्दैन ।
निसंकोच, निसन्देह
तँलाई कसरी मन परोस ।

तँ त जुलुम सुन्दरी
जुनको टकले धपक्क बलेकी परी अरे ।
सुन्दैछु, चोक गल्लिमा तेरै चर्चा छ ।
आँखा तेरो, म्रिगका जस्ता रे ।
केश तेरो, स्वच्छन्द छहरा रे ।
अण्डाकार अनुहार तेरो, पुर्णेको चन्द्रमा रे ।
लामो घाँटी तेरो, ढुकुरको जस्तो रे ।
बुझ्दिन म त,
फिगर तेरो, छत्तिस-चौबिस-छत्तिस रे ।
अनी उचाई, गहिराई
कतै खोट लाउनै नसकिने, टम्मै मिलेका रे ।

यसरी देख्दैछु यहाँ
तेरो रुपको पाईलैपिच्छे
दुनियाँले काढेका रालहरु ।
दुनियाँले निलेका थुकहरु ।
परीवेश अग्राहय लाग्छ ।
सुन्दिन कतै,
तेरो मौलिकताको चर्चा ।
मेरो समझमा कहिल्यै आएन,
तेरो मगजको बयान ।

तिनताका, कोट्याएर घाऊ
तँ सामु आफ्नो व्यथा पोखेथेँ ।
तैँले त उल्टै हरामी कथाकार भनिस रे ।
मायाले तेरो हात छोएथेँ,
सिधै तैँले बलात्कार भनिस रे ।
आफु सदा झुकेरै भए’नी
तँलाई सहीपथ डोर्‍याउन खोज्दा,
स्वार्थी पुरुषको अहंकार भनिस रे ।
अब त मजाले बुझ्न सक्छु,
आखिर दुरुस्तै रहिछन यहाँ
तेरो थोपडा र मेरो मन ।
मेरो थोपडा र तेरो मन ।

मेरो अमुल्य समयलाई
तैंले त्यसबखत पिरो बनाइस ।
म तेरो अभावमा रोगी थिएं,
मौका छोपेर, औँशिको किरो बनाईस ।
अनी असन्तुलित मेरो मनको समिकरणमा
जाली सुत्र छिराएर, स्टेप बाई स्टेप अगाडि आईस ।
र मलाई फगत नांग्लो जत्रो जिरो बनाईस ।
तर सुन, नखरमौली…
त्यतिखेर तँ सँग फोक्कडमा ठोक्किक्दा
मेरो मुटुमा उठेको टुटिल्को,
मेरो गिदिमा उम्रेको डन्डिफोर
समयसँगै सन्चो भईसके ।
म बिल्कुल ठीक छु ।
तँ नभएर के भो त !
म त्यसै यहाँ रम्न सक्छु ।
म त्यसै यहाँ घुम्न सक्छु ।
मेरो आफ्नै सर्कल छ ।

सुर्य तेरो पनि, मेरो पनि ।
चन्द्रमा तेरो पनि, मेरो पनि ।
बर्खाको बाछिट्टाले,
तँलाई पनि भिजाउँछ ।
मलाई पनि भिजाउँछ ।
बसन्तमा कोकिल संगितसंगै
फुलेका पर्पल सिरिसहरु त्यसै झर्छन,
समय आउँछ, त्यसै फुल्छन ।
अन्धकारमा,
तँ पनि देख्दिनस, म पनि देख्दिन ।
शशिकला,
न तँ बुझ्छेस, न म बुझ्छु ।

आश्चर्य लाग्छ,
आखिर के का लागि
मैले तँलाई रोजेको नाटक गरेँ ।
तर अब गुनासो छैन,
म बाठो भईसकेँ ।
तेरो सारहिन अस्तित्वको,
सारहिन याद अब म कदापी बोक्दिन ।
तँलाई कल्पेर मरेतुल्य कविता कदापी कोर्दिन ।
एक्लै हुँदा, आहा ! रमाइलो छ बर्तमान;
सायद, सुन्दर छ भबिस्य…
तँलाई जपेर त्यसलाई कुरुप बनाउँदिन…
अहँ बनाउँदिन…
पक्कै बनाउँदिन…!!!

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

साईकोलोजिकल फ्याक्ट

एउटी केटी,
बोलचाल त छैन !
तर के ढाँट्नु…
झुक्केर होला,
हेराहेर चाँही हुन्थ्यो !!!

अँ साँच्ची…
सपनामा आज,
त्यसलाई देखेछु ।
के चहियो त ? प्रश्न उठ्यो ।
र खिस्स हाँसे,
एउटा निराश हाँशो

लौन के भयो….?
अनालाईसिस जारी छ ।
हात लाग्यो,
भयंकर मनोबिश्लेषकको,
उत्कृष्ट नन-फिक्सन बुक
सपना, अर्थ र रहस्य
भेटेँ एक लाईन…
“तेरो सपनाको प्रोट्यागोनिस्ट,
तेरो ईच्छाले मात्रै जन्मन्न ।
सजिलो कहाँ छ र !
मारेर सिङगो रात,
फ्वाँसफ्वास निदाएको नाटक गर्दैमा
सपनामा कसैलाई देखिन्न,
त्यसको लागि त,
बिपनामा त्यसले सम्झनुपर्छ ।
तँलाई एकपल सोच्नुपर्छ ।”

लौ त…
निस्सार साथको भोको म,
के चहियो त ?
फेरी प्रश्न उठ्यो
र एक्लै खिस्स हाँसे ।
तर यसपाली चाँही,
आशलाग्दो हाँसो ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

मेरो आँखामा ‘प्रेम’

Writer: Deepak KC, Bardiya

प्रेम वास्तवमै एक अदभुत अनुभुती हो; मन र मस्तिस्कलाई आहलादनको चरमोत्कर्शमा लैजाने एक अदभुत अनुभुती । प्रेम नौलो बिषय होईन मानव सभ्यताकालागी र यसका परीभासाहरु युगानुकुल हुँदै आएका छन तर प्रेमको नैसर्गिक समरुपता भने हरेक पारीभाषामा छरप्रष्ट भएकै हुन्छ । प्रेमले सांच्चिकै मानिसलाई सबै अहंकार र अहममन्यतालाई बिर्सन रामसेतु बनेको हुन्छ र प्रेमले नै मानिसमा जीवनप्रतिको विश्वासलाई दरिलो बनाउने काम पनि गर्छ । प्रेमका सायद व्यक्तिपरक र स्थितिपरक अनुभुतिहरु हुनेगर्छन तर जे समान हुन्छ प्रेमका हरेक अभिब्यक्तिहरुमा त्यो हो प्रेमको अलौकिक या पारलौकिक अनुभुती । प्रेमले अचेतन मस्तिष्कका पनि सबै अवयवहरुलाई चेतनाको परममुद्रामा घनिभुत पार्दछ र यस्तो चेतना जसका सामु हरेक चेतना फिक्का लाग्दछन र मन केवल त्यही चेतनाको अधिनस्त रहन चाहन्छ । सायद प्रेम एकमात्र एउटा यस्तो शाश्वत सत्य हो जससँग मानिस सहजै एकाकार हुनसक्दछ र एक यस्तो सत्य जसका अगाडि अरु सबै सत्य मिथ्या लाग्दछन । प्रेममा नै मानिस आफ्ना सबै मुल्य र मान्यताहरुलाई थांती राखेर शिशिरपछीको बसन्तमा पलाउने नयाँ पालुवा सरह पलाउन चाहन्छ; सबै जडतालाई तोड्दै; सबै हठलाई बिश्रान्ती दिँदै ।
प्रेममा भनिन्छ मानिस संसार सारालाई भुलिदिन्छ । सायद यस सत्यको बिश्लेषण यसरी पनि हुनसक्छ । मान्छेले जीवनमा जे अनुभुत गरेको हुन्छ, उसका ईन्द्रियहरुले जे महसुस र जे भोगेका हुन्छन, त्यो नै मानिसको लागि उसको संसार हो र सायद मानिसको कल्पना पनि उसको कुनै बिशेष ईन्द्रियले महसुस गरेको एक संसार । जब मानिस प्रेममा घनिभुत हुन्छ अनी उसका लागी यी सारा संसारका औचित्य समाप्तप्राय भएर जान्छन र उसको लागि एकमात्र संसारको प्रादुर्भाव हुन्छ र त्यसैमा उ बिलिन हुन चाहन्छ र त्यो मात्र प्रेमको संसार हुन जान्छ । प्रेममा अरु सबै कुराहरु अप्रासंगिक हुन जान्छन या भनौ मन तिनिहरुलाई अप्रासंगिक बनाउने भागीरथ प्रयासमा तल्लिन बनिरहन्छ । सत्य जे भएपनी त्यसको समागम प्रेममा नै हुन्छ, हो प्रेममा त्यसको समागम हुन्छ । हरेक भावना अनी कल्पनाहरुका नदी अन्तत: प्रेमकै महासागरमा विलय हुन्छन र तिनलाई बिलय हुनुको दु:खमन्यता हुंदैन पनि । प्रेमनै एउटा यस्तो सत्य हो जससंग एक रंकदेखी एक राजासम्मले तादम्यता राख्दछन र जसलाई अंगिकार गर्न उनिहरुलाई असहजताका भिरहरु चढ्नु पर्दैन पनि । सायद त्यसैले प्रेम यती महिमामन्डित भएको छ र प्रेममा मानिस आफुलाई समेत भुलिदिन्छ …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

म अलिकती औँशी चाहन्छु

प्रत्येकपल्ट;
पुर्णिमाका चिसा रातसंगै
निराशाका असिम तरंगहरु
मेरो आफ्नो अवनिमा
अवतरित भएपछी
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।

संसारले नदेखोस,
अब मेरा कुरुपताका रंगहरु ।
समालोचकहरु मौन बसुन,
अशोभित, असमाप्त
मेरा अनगिन्ती कवितामाथी ।
अश्रुझैँ असीमित, असंगत ति शब्दधारामाथी ।

मलाई,
त्यो क्षणिक उज्यालो चाहिंन्न ।
जहाँ
निराशाका प्याकेटहरु
सदा अक्षोभ्य रहन्छन ।
अहंकारका ढिक्काहरु
सदा अबिनाशी रहन्छन ।
कोलाहल, चिच्याहट
क्रन्दन र द्दन्द्दका
ज्वालामुखिहरु…
हो, फुटिनैरहन्छन ।

बरु म
झ्याँउकिरीसँगै गाउन चाहन्छु ।
जुनकिरिसँगै नाच्न चाहन्छु ।
एकमुठी समय आफ्नो पासमा राख्दै,
फेरी एकचोटी बाँच्न चाहन्छु ।
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Adventure: Defying the notions

Deepak KC, Bardiya

Writer: Deepak KC, Bardiya

Adventure’, the word itself pumps every bit of adrenaline in an adventure lover’s body and one cannot resist the irresistible temptation of contentment and glory attained in pushing his body to the limits. An adventure lover’s life is not confined to just discovering what life has in store for him but to discover what he can offer to his life. To an adventure lover, life is always a roller coaster ride and if not he makes sure that it is not a lack lustrous and a tedious daily routine. He will do everything he can to spice up and to add a new dimension to his life. Every day is a new day and life resembles a suspense thriller, with its mystery unraveling at every point and time, leaving its audience no time to be filled with disappointment and gloomy thoughts. Every day is as fresh as a morning rose and every dawn is as lightened and heightened up as flings in fire. You are simply obsessed by the obsession and you cannot help but be an adventure lover. Adventure, in my opinion does not necessarily mean you have to put your life at the brink of life and death every time. It doesn’t only imply the practices like rock climbing, canoeing, rafting, bunjee jumping, mountaineering, hiking, trekking, mountain biking etc., as many people correspond with but it can be anything that is contradictory to what you believe has been sucking up your life and anything which can rejuvenate and rekindle your feelings, your body and soul. It can be anything like running like a freak when everybody else is walking, crawling, as I prefer to say, in a crowd of monotonous people and believe me there’s nothing more adventurous than standing up against the pre-conceived notions and popular beliefs that seem to make no sense at all and that seem to make a no help at all than to make a mockery of life at every stage.

All in all, this article is dedicated to each and every adventure seeker and to those who want to live a life of their own, defying every odd and defying every notion. At the same time, it will be an attempt to redefine some popular beliefs regarding adventure and if not, bringing them down to questions, at the least.

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

बिज्ञान र कविता

संसार;
बिज्ञानको हत्केलामा देखेपछी
त्यो कवीले
निसंकोच बिज्ञान पढ्यो ।
अनी,
उसको कवितामा षोडशी स्त्री हैन,
सैयौँ ईलेक्ट्रोनहरु प्रवेश गरे ।
फलस्वरूप;
ति शब्दहरु मात्तिए ।
अर्थहरु आत्तिए

कविता करेन्ट भयो …
साँच्चै करेन्ट ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Poem: The Charisma

I am not a poet.
Yesterday, At mid-night;
I killed mine poem

“In circle of thirsty feelings
those bloodied words became martyrs…”
dictionary, the country of words whispered.

I looked into mine heart:
the veins of sorrows;
the veins of ecstasies;
were fully nerveless, unconscious.
I sighed. I cried …

I asked to mine soul of truth,
Now, how can i cherish the full moon?
How can i decipher this zigzag life?
How can i impress myself?
I have no charisma at all.
I have no charisma at all.

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

गजल

मलाई त्यो कविता मन पर्दैन ।
भावशुन्य सरिता मन पर्दैन ।

शब्दहरु अर्थ सापटी माग्छन,
हो, यस्तो दरिद्रता मन पर्दैन ।

ठुलीभिर, आलो रगतले छोपिँदा,
गुराँसको रमिता मन पर्दैन ।

यथार्थता निचोरेर जन्मिएको,
कल्पितार्थ सविता मन पर्दैन ।

बाछिट्टाले निथ्रुक्क ‘प्रकाश’लाई,
चाँदको नविनता मन पर्दैन ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Follow

Get every new post delivered to your Inbox.