तँ र म

सत्य !
हिजोआज, लाटो ऐना अगाडि
म आँफैलाई ‘म’ मन पर्दैन ।
निसंकोच, निसन्देह
तँलाई कसरी मन परोस ।

तँ त जुलुम सुन्दरी
जुनको टकले धपक्क बलेकी परी अरे ।
सुन्दैछु, चोक गल्लिमा तेरै चर्चा छ ।
आँखा तेरो, म्रिगका जस्ता रे ।
केश तेरो, स्वच्छन्द छहरा रे ।
अण्डाकार अनुहार तेरो, पुर्णेको चन्द्रमा रे ।
लामो घाँटी तेरो, ढुकुरको जस्तो रे ।
बुझ्दिन म त,
फिगर तेरो, छत्तिस-चौबिस-छत्तिस रे ।
अनी उचाई, गहिराई
कतै खोट लाउनै नसकिने, टम्मै मिलेका रे ।

यसरी देख्दैछु यहाँ
तेरो रुपको पाईलैपिच्छे
दुनियाँले काढेका रालहरु ।
दुनियाँले निलेका थुकहरु ।
परीवेश अग्राहय लाग्छ ।
सुन्दिन कतै,
तेरो मौलिकताको चर्चा ।
मेरो समझमा कहिल्यै आएन,
तेरो मगजको बयान ।

तिनताका, कोट्याएर घाऊ
तँ सामु आफ्नो व्यथा पोखेथेँ ।
तैँले त उल्टै हरामी कथाकार भनिस रे ।
मायाले तेरो हात छोएथेँ,
सिधै तैँले बलात्कार भनिस रे ।
आफु सदा झुकेरै भए’नी
तँलाई सहीपथ डोर्‍याउन खोज्दा,
स्वार्थी पुरुषको अहंकार भनिस रे ।
अब त मजाले बुझ्न सक्छु,
आखिर दुरुस्तै रहिछन यहाँ
तेरो थोपडा र मेरो मन ।
मेरो थोपडा र तेरो मन ।

मेरो अमुल्य समयलाई
तैंले त्यसबखत पिरो बनाइस ।
म तेरो अभावमा रोगी थिएं,
मौका छोपेर, औँशिको किरो बनाईस ।
अनी असन्तुलित मेरो मनको समिकरणमा
जाली सुत्र छिराएर, स्टेप बाई स्टेप अगाडि आईस ।
र मलाई फगत नांग्लो जत्रो जिरो बनाईस ।
तर सुन, नखरमौली…
त्यतिखेर तँ सँग फोक्कडमा ठोक्किक्दा
मेरो मुटुमा उठेको टुटिल्को,
मेरो गिदिमा उम्रेको डन्डिफोर
समयसँगै सन्चो भईसके ।
म बिल्कुल ठीक छु ।
तँ नभएर के भो त !
म त्यसै यहाँ रम्न सक्छु ।
म त्यसै यहाँ घुम्न सक्छु ।
मेरो आफ्नै सर्कल छ ।

सुर्य तेरो पनि, मेरो पनि ।
चन्द्रमा तेरो पनि, मेरो पनि ।
बर्खाको बाछिट्टाले,
तँलाई पनि भिजाउँछ ।
मलाई पनि भिजाउँछ ।
बसन्तमा कोकिल संगितसंगै
फुलेका पर्पल सिरिसहरु त्यसै झर्छन,
समय आउँछ, त्यसै फुल्छन ।
अन्धकारमा,
तँ पनि देख्दिनस, म पनि देख्दिन ।
शशिकला,
न तँ बुझ्छेस, न म बुझ्छु ।

आश्चर्य लाग्छ,
आखिर के का लागि
मैले तँलाई रोजेको नाटक गरेँ ।
तर अब गुनासो छैन,
म बाठो भईसकेँ ।
तेरो सारहिन अस्तित्वको,
सारहिन याद अब म कदापी बोक्दिन ।
तँलाई कल्पेर मरेतुल्य कविता कदापी कोर्दिन ।
एक्लै हुँदा, आहा ! रमाइलो छ बर्तमान;
सायद, सुन्दर छ भबिस्य…
तँलाई जपेर त्यसलाई कुरुप बनाउँदिन…
अहँ बनाउँदिन…
पक्कै बनाउँदिन…!!!

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

साईकोलोजिकल फ्याक्ट

एउटी केटी,
बोलचाल त छैन !
तर के ढाँट्नु…
झुक्केर होला,
हेराहेर चाँही हुन्थ्यो !!!

अँ साँच्ची…
सपनामा आज,
त्यसलाई देखेछु ।
के चहियो त ? प्रश्न उठ्यो ।
र खिस्स हाँसे,
एउटा निराश हाँशो

लौन के भयो….?
अनालाईसिस जारी छ ।
हात लाग्यो,
भयंकर मनोबिश्लेषकको,
उत्कृष्ट नन-फिक्सन बुक
सपना, अर्थ र रहस्य
भेटेँ एक लाईन…
“तेरो सपनाको प्रोट्यागोनिस्ट,
तेरो ईच्छाले मात्रै जन्मन्न ।
सजिलो कहाँ छ र !
मारेर सिङगो रात,
फ्वाँसफ्वास निदाएको नाटक गर्दैमा
सपनामा कसैलाई देखिन्न,
त्यसको लागि त,
बिपनामा त्यसले सम्झनुपर्छ ।
तँलाई एकपल सोच्नुपर्छ ।”

लौ त…
निस्सार साथको भोको म,
के चहियो त ?
फेरी प्रश्न उठ्यो
र एक्लै खिस्स हाँसे ।
तर यसपाली चाँही,
आशलाग्दो हाँसो ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

म अलिकती औँशी चाहन्छु

प्रत्येकपल्ट;
पुर्णिमाका चिसा रातसंगै
निराशाका असिम तरंगहरु
मेरो आफ्नो अवनिमा
अवतरित भएपछी
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।

संसारले नदेखोस,
अब मेरा कुरुपताका रंगहरु ।
समालोचकहरु मौन बसुन,
अशोभित, असमाप्त
मेरा अनगिन्ती कवितामाथी ।
अश्रुझैँ असीमित, असंगत ति शब्दधारामाथी ।

मलाई,
त्यो क्षणिक उज्यालो चाहिंन्न ।
जहाँ
निराशाका प्याकेटहरु
सदा अक्षोभ्य रहन्छन ।
अहंकारका ढिक्काहरु
सदा अबिनाशी रहन्छन ।
कोलाहल, चिच्याहट
क्रन्दन र द्दन्द्दका
ज्वालामुखिहरु…
हो, फुटिनैरहन्छन ।

बरु म
झ्याँउकिरीसँगै गाउन चाहन्छु ।
जुनकिरिसँगै नाच्न चाहन्छु ।
एकमुठी समय आफ्नो पासमा राख्दै,
फेरी एकचोटी बाँच्न चाहन्छु ।
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

बिज्ञान र कविता

संसार;
बिज्ञानको हत्केलामा देखेपछी
त्यो कवीले
निसंकोच बिज्ञान पढ्यो ।
अनी,
उसको कवितामा षोडशी स्त्री हैन,
सैयौँ ईलेक्ट्रोनहरु प्रवेश गरे ।
फलस्वरूप;
ति शब्दहरु मात्तिए ।
अर्थहरु आत्तिए

कविता करेन्ट भयो …
साँच्चै करेन्ट ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

गुनासो, सान्दिदीसँग

सान्दीदी !
चित्त बुझेन, मन मानेन ।
तिमीसँग आज गुनासो पोख्छु ।
बाल्यकालमै तिम्ले गाँउ छोड्यौ,
शहरमा मान्छेको समुद्रछाल छिचोल्दै,
आयतनयुक्त मोती टिप्ने अभिलाषामा ।
अनी त चटक्कै बिर्सियौ है,
बेँसिको देउरालीमा ढुंगामाटोको पसल खेलेको,
मेरो पुतली तिम्ले चोर्दा घरपछाडी कुटाकुट गरेको,
गोठालो जाँदा चुत्रोको बोटमा दिनभरी झुन्डेको ।
मलाई अचम्म लाग्छ,
त्यती मायाले आँगनमा रोपेको त्यो लालुपातेको,
तिम्लाई कत्ती पनि सम्झना आएन ?
चिरौटे चौतारीको त्यो शितलताले,
शहरको गर्मीमा भतभती पोलेन ?

सान्दिदी !
तिम्ले गाँउ छोडेपछी,
यहाँ त अनौठो युद्द पो चर्कियो ।
हत्या, अपहरन भईरहन्थ्यो ।
नोखराज दाई पनि अब हामी माझ रहेनन ।
स्कुलबाटै अपहरन गर्थे हाम्लाई त !
धेरै चोटि सुनियो: सहउठान र आमुल परिवर्तनका भाषणहरु ।
उखुझ्याङ पछाडि एक दुइवटा लाश अनौठो लाग्दैन्थ्यो, सान्दिदी ।
हजुरबा त रातिराती हिंड्नुहुन्थ्यो, गाउबेशिको कामले ।
उहाँलाई सोध त,
यो कहालीलाग्दो रक्ताम्य युग हाम्ले कसरी काट्यौ ?
आँखिझ्याल पनि थुन्थ्यौ, साह्रै डर लाग्थ्यो;
अनी सासले बोल्थ्यौ सान्दिदी, सासले !!!
जनयुद्द, क्रान्तिको ज्वाला भन्थे,
पलपल होमिन उक्साउथेँ;
तर हामी त यसको रापमै जल्यौ, सान्दिदी !
सायद कहिल्यै नथाक्ने घाऊ बटुल्नलाई ।

गामबेशी गर्दै आफ्नो डोकेजीवनका,
पसिना चुहाउने बैशाखहरु यसरी कटे सान्दिदी ।
मनमा अझ थुप्रै पिडा छन,
नथाक्ने घाऊ त कती कती ।
गुनासा अझै बाँकी छन,
तिम्रो बियोग खप्न नसकेर
लालुपाते रुँदैछ,
देउराली सुसेल्दै छ,
चौतारी पर्खिरा’छ ।
एकचोटी गाउँ आउ है, सान्दिदी !!!

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

कविता

अक्षर अनी शब्दको,                              
शब्द अनी शब्दाडम्बरहरुको
सफल सम्मेलन पछी
शक्त चर्चा प्रयास:
षोडशी शर्मालु स्त्रिको,
पूर्ण शशिको, शशिकलाको
शुन्यबाद, शुन्यकाल र शुन्यशान्यको ।
अनी त,
मीठो सम्योजन फेरी
तिनै शब्दशक्तिहरु,
‘अभिधा’, ‘लक्षणा’ र ‘व्यन्जना’ को
र जन्म एउटा:
शषरा तर शरीफ कविताको …
मौन तर चुलबुले कविको …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

जुन

त्यो                                             
चाँदनी रातको
शीतल आभासँग
बिगत कोट्टिएपछी,
मन साह्रै एकोहोरो हुन्छ,
भित्रभित्रै दुख्छ
र यादको अँगेनोमा
मायाको अगुल्टो
हुरहुरी बल्न थाल्छ,
अनी त;
आफैँलाई सिध्याउँछ कि !!!
मलाई अनौठो डर लाग्छ ।
र यो फीक्का जिन्दगीको
अम्मली म,
यसोतसो
घिस्रिने कोसिस गर्छु,
टहलेर त्यही
स्निग्ध, कोमल जुनको
छर्लङग अनुहार …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

कुकुरहरु

एक हुल कुकुरहरु हिजो
कुकुरहरु, बधशाला वरपर
राल काढिरहन्थे ।
भोको पेट तग लगाउन,
चर्पी छेउ
नाक डुलाउँथे ।
केवल कर्तिकमा बोका हुन्थे ।
तर आज,
तिनै कुकुरहरु
सिँहदरबार वरपर
राल काढछन ।
भन्सार भित्र
नाक डुलाउँछन,
बारै मास तरुनी खेतीमा
मस्त हुन्छन् ।
समयको शक्ति हो की
तिनिहरु भित्रको क्रान्ति यो !!!
साच्चै बुझिनसक्नु भए
ती एकहूल कुकुरहरु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

त्यो कथा र पात्रहरु

त्यो रात
साँच्चै अँध्यारो थियो,
चुक घोप्टाएजस्तो ।
साँच्चै सुनसान थियो,
मसानघाट जस्तो ।
टाढा, धेरै टाढा
एकहूल कुकुरहरु
भुकेजस्तो गर्थे ।
म,
त्यही उकुसमुकुसभित्र रुमल्लिएर
कथाको पात्र खोज्दैथेँ ।
आँशु झार्दै,
चित्कार सुनाउँदै
मैँ सामुन्ने आए;
एकहुल बलात्‍कृत गौरीहरु ।
टपरी थाप्दै,
भोको पेट निचोरेर
मुर्दाबादको पासोमा सेरिदैँ आए;
अछाम, बैतडी र डोटीका
प्रकोप पीडितहरु ।
हाम्रो अस्तित्व खोई ???
माटोको बेईज्जत भयो ।
बलिदानको इतिहाँस खोक्रो रैछ,
लाल-लाल बन्दै आए,
सुस्ताका युवाहरु ।
परिचय चाहियो
त्यसैले,
नागरिकताको माग गर्छन् ।
बाँच्नु छ, इज्जतसाथ
एकमुठी माटोको आश गर्छन् ।
निर्णायक आन्दोलन भन्दै,
म भित्र पसे;
कैँयौ भुटानी शरणार्थिहरु ।
सास फेर्ने
बैकल्पिक उपाय सोध्दै आए,
सिन्धुपाल्चोकको भिडन्तमा
गोली लागेर
नाक उछिट्टिएका
अबेला योद्दाहरु ।
१९ दीने जनआन्दोलनपछी,
जीउँदो मुढो बनेका
अमर मुकेशहरु ।
साँच्चै,
अब म ठुलो भीडमा परेँ ।
सुनसान रात छ तर,
कोलाहलमाझ परेँ ।
तातो रातो भएँ ।
बेगमका थप्पडहरु
र यादवका ट्वाईलेट सम्झेँ ।
प्रजातन्त्र, लोकतन्त्र
र गणतन्त्रको क्रमिकता सम्झेँ ।

अनी त
निबले कपिको पन्ना कोतारेँ मात्रै ।
रिसले दाँत रगडेँ मात्रै ।
तर,
कथा थाल्न सकीँन,
मैँले पात्र छान्न सकीँन ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Follow

Get every new post delivered to your Inbox.