प्रेम: एक निष्कर्ष


निसब्द ज्योति पोखिन्छन,
विश्वासका ओसिला डेराहरुमा ।
आलो छटपटी,
वरीपरी ।huge-canvas-oil-painting-modern-abstract

फरक छैन,
हिजो, आज र भोलिमा ।
एक चिम्टी अन्धकारमा हराउने,
लोभि प्रेमीको,
जिउँदो अस्तित्व कदापी सत्य होईन ।
ज्वरोले ग्रसित,
प्रतिगामी सम्बन्धको,
सिटामोल हो;
अग्रगामी समय ।

लामो यात्राा निरन्तर छ, हुनेछ ।
सस्तो आँशु…
ठोस पाइलासंगै,
अवस्य सुक्छ्न ।
बिगतका दुई कप कफी,
हामी दुवैले बिसर्जन गरिसक्यौँ …!

माफ गर,
प्रेम निराकार झुट हो ।
राता फुल सबै गुलाफ हैनन ।
गुलाफ सबै राता हुन्नन ।
संकटमा परेका आजहरु,
भोलिका दोष हैनन ।
फगत,
हिजोका खल्डाखुल्डीले,
उमारेका बिचरा आशचाँही
पुरिनुपर्छ,
शुन्य जीवनखेती सँगै ।
बिस्तारै, बिस्तारै ।।

गजल


सबैचिज तितो भो, तिम्रो भिषा लागेपछी ।iwl-05-loss-screen
समय नै छिटो भो, तिम्रो भिषा लागेपछी ।

बिस्तारै बिस्तारै,  हो हराए साथिभाई ।
शहर यो रित्तो भो, तिम्रो भिषा लागेपछी ।

पुराना वाचा तिम्रा, एक एक सम्झदैँछु ।
बिगत नै मीठो भो, तिम्रो भिषा लागेपछी ।

टुटेपछि सपना, आँखाहरु थाक्दारैछन् ।
रातै अनिदो भो, तिम्रो भिषा लागेपछी ।

मधेसमा हड्ताल, अस्थिर छ राजनीति ।
राष्ट्रै अनौठो भो, तिम्रो भिषा लागेपछी ।

अभाव नहोस् है, तिम्रा उन्नति खातिर ।
लौ मन मुटु धितो भो, तिम्रो भिषा लागेपछी ।

अनायसै जिन्दगीमा, काँचसरी ईच्छाहरु ।
धुलो पिठो भो, तिम्रो भिषा लागेपछी ।

गजल


रहरहरु फरक छन्, तिम्रा मेरा ।
हो, डरहरु फरक छन्, तिम्रा मेरा ।

रित्तो समाजमा जन्मिए, सस्तैमा बिक्छु ।
शहरहरु फरक छन्, तिम्रा मेरा ।

असन्तुलित सपनामा, मौन छटपटी ।
प्रहरहरु फरक छन्, तिम्रा मेरा ।

बेदनात्मक जिन्दगीका, अमिला घाउ ।
जहरहरु फरक छन्, तिम्रा मेरा ।

कम्पनपछी भत्किए, आशा भरोसा ।
हो, घरहरु फरक छन्, तिम्रा मेरा ।

सुसाएको सुनसान नदी, भ्रान्ती हैन ।
लहरहरु फरक छन्, तिम्रा मेरा ।

रहरहरु फरक छन्, तिम्रा मेरा ।
हो, डरहरु फरक छन्, तिम्रा मेरा ।

कालो भुईँमा नीला रङहरु


प्रत्यकदिन,blue-m1
म बेसुरले हिँड्छु ।
हामी बेसुरले हिँड्छौ…!

पाइला मेटिन्छ या मेट्छौ ।
लक्ष्य बोकिन्छ या बोक्छौँ…।

समयसँगै,
शनै: शनै,
अल्झिन सकिन्छ,
अँध्यारा भिरहरुमा ।
बल्झिन सकिन्छ,
उज्याला पिरहरुमा ।
खुल्न पनि सकिन्छ.
यदाकदा झिसमिसमा ।
सिमसिममा ।
कुनै दुर्लभ पुर्णिमामा ।

अविष्मरणिय एक साँझ,
निशब्द प्रकृति ।
निस्सार अवस्थिति ।
शाश्वत आकृति तिम्रो,
वरिपरी ।

हेराहेर, कदापी सत्य होइनन् ।

चलायमान मस्तिष्कका तारहरुले,
जब आँखाका पछील्तिर,
बन्द परिपथ बनाउंछन्,
अनि हामी देख्छौं,
र देखेझैं गर्छौ ।
जस्तो एक प्रकारको भाषा,
जुन हामी बुझ्छौं,
र बुझेझैं गर्छौ ।

निष्कर्ष: पुर्णिमाका जम्काभेटहरु अमर हुन्छन् ।

पुन:
म बेसुरले हिँड्छु ।
हामी बेसुरले हिँड्छौ…!

पाइला मेटिन्छ या मेट्छौ ।
लक्ष्य बोकिन्छ या बोक्छौँ…।

बिस्तारै ,
कालो भुईँमा नीला रङहरु अष्पष्ट हुन्छन् ।
पुर्णिमाहरु भ्रम हुन ।
भ्रमहरु पुर्णिमा हुन ।

तिमी, म र प्रेम


अस्ति,
तिमी != म ।
म != तिमी ।
फरक सोचमा प्रेम ।
प्रेममा फरक सोच ।

हिजो,
दुई मनमा एउटै संगीत ।
एउटै संगीतमा दुई मन ।
बिस्तारै, बिस्तारै…
मेरो जिन्दगी = तिम्रो रहर ।
तिम्रो जिन्दगी = मेरो रहर ।
तिमी = म ।
म = तिमी ।

आज,
एक्कासि,
प्रेममा क्रान्ति ।
क्रान्तिमा प्रेम ।
विचारमा पहिरो ।
पहिरोमा विचार ।
पुनः
तिमी != म ।
म != तिमी ।

म इन्जिनियर होइन


खै के हुन्छ, हुन्छ; जब ईक्जाम आउँछ अनी मलाई खुब साहित्यिक हुन मन लाग्छ । मनभित्र गुम्सिएर रहेका उकुसमुकुसहरु ह्वात्तै बाहिरिन खोज्छन । घोत्लिएर समय काट्छु । घर, कोठा अनी आफ्नो आन्तरिक या बाह्य, दुवै परिवेश, कत्ती पनि जाती लाग्दैनन । कोठा त्यसै-त्यसै फोहोर जस्तो लाग्छ । बाहिर निस्कन्छु; सायद आफु हतारमा हुन्छु होला, अनी सारा संसारनै हतारिएको भान हुन्छ । सडकमा घिस्रिरहेका मानिसहरु हेर्छु, सबैको हालत मेरो भन्दा फरक, बिल्कुल फरक जस्तो लाग्छ । निस्सार जीवन त मेरो मात्रै होला, म चुरोटको धुवाँसँगै यस्तै यस्तै सोच उडाउने गर्छु । त्यो उड्छ, अनन्त आकाश छुन, त्यसको उडाईसँगै म वर्तमान जिन्दगीका उलटपुलट किरणहरु अन्तै परावर्तन गर्ने भरमग्दुर प्रयास गर्छु । मेरो सुदुर भबिष्य अन्योलग्रस्त छ । पूर्णतया अनिश्चित । यो सम्झँदा पनि मन भारी भएर आउँछ । फेरी आफैँलाई सम्झाउने प्रयास गर्छु । कस्को चाँही भबिस्य फिक्स हुन्छ र, सबै पीडित छन, यो दु:खै दु:खले भरिएको गुह्य जिन्दगी बिताउने तँ मात्रै कहाँ हो र !

भोली ईक्जाम छ; Instrumentation II को । सातौँ चोटि दिदैँ छु । पढेकै छु क्यारे । च्याप्टर टु को प्रोग्राम बाहेक अरु त आउँछ नि ! मन ढुक्क पार्ने प्रयास गर्छु । अर्को मनले भन्छ; त्यो प्रोग्राम पनि पढ, भोली त्यही मात्रै आयो भने के गर्छस । एक्कासी मनस्थिती शिथिल भएर आयो । उठेर घोकुँ कि । तर हैन, छाड्दे, पास फेल कहाँ सत्य हो र । तिनिहरु त सत्याभास मात्रै हुन । समाज चलाऊन मानिसले बनाएका साला कुनियमहरु । म कोल्टे फर्कन्छु । आज निद्रा लागि’रा छैन । भोलिको लागि चाहिने फर्मुलाहरु, डेरिभेसनको स्टेप्सहरु सम्झनु नि । म किन यो थोत्रा दर्शन पट्टी लागिरा छु । किताबका कुनै पनि कुराहरु मगजमा छैनन । आफ्नो आँखा अगाडि पढिसकेका उपन्यासका पात्रहरु कराउन थाल्छन, बिचारहरु नाँच्न थाल्छन । उठेर छतमा जान्छु , बिलाउन नसकेर टिल्पिलाइरहेका एक दुई तारालाई हेर्दै आफुलाई अलिकती बिर्साउन खोज्दै दुई खिल्ली चुरोट एक सासमा भ्याईदिन्छु । परिस्थिती सहज भएझैँ लाग्छ । घडी हेर्छु; रातले दोश्रो प्रहर आधी पारिसकेछ । म एक्कासी तर्सन्छु, लौ न सात बजे त पुल्चोक पुग्नुछ । अनी रातलाई आँखा चिम्लेर जसोतसो पन्छाउने प्रयास गरेँ ।

भोलिपल्ट गर्हुगोँ पाहिलासाथ बोझिलो मन र एकचिम्टी आश लिएर पुल्चोक क्याम्पसको प्राङगणमा पुगेँ । वरिपरी आफुभन्दा दुई तीन ब्याच जुनियर भाईबहिनिहरु भेटिए । आफ्नै पालाका साथीहरु त धेरै कम थिए, एउटालाई टिप्न भ्याएँ अनी लुसुक्क अलिकती माथि सेर्पा दिदिको चिया पसलमा गएँ । त्यहाँ हामी दुईले एकछिन छलफल गर्यौ । साथीहरुको चर्चा भयो । उसले भन्यो: भुवन त अहिले NCELL को सिनियर ईन्जिनियर रे नि । सजला केईसीको HOD भैरे नि । बाँकी साथीहरु पनि खासै कोही नेपालमा छैनन । दिपेश पनि लेनोवोको सर्किट डिजाईनर भयो रे नि । जे होस प्राय केटाहरुले राम्रा राम्रा काम पाएछन यार । हामी मुला चाँही यही सड्ने भयौँ । तँलाई थाहा छ; अब चार चोटि भन्दा बढी त ईक्जाम दिन पनि पाईन्न रे नि । उसले अनुहार बिगार्दै धुवाँमा आफ्नो मलिन अनुहार छोपेर बस यती भन्यो । मलाई भने अनेकौं बिकिरणहरुले एक्कासी छोपेझैँ भएर आयो । “वास्तबमा एउटै पेपरको इक्जाम धेरै चोटि ह्यान्डल गरेपछी कन्फिडेन्स भन्ने कुरो मजाले मर्दोरैछ है” मैले समर्थन पाउने आशमा उसतिर हेर्दै भने । प्रतिउत्तरमा उसले मुन्टो हल्लायो । “तर छाड्दे, एकचोटी त हाम्रो पनि पास हुने दिन आउला नि ! अनी हामी पनि ‘जव’ पाउँछौ कि ?” मैंले परिस्थितीमा बिस्मायाधिबोधक र प्रश्न-चिन्ह एकैचोटी लगाईदिएं । “खै यार, तेरो स्थिती त सुध्रेला कि ! मेरो त उस्तै हो । ” आफुलाई साह्रै निरिह पर्दै उसले यत्ती भन्यो । चुरोट पिउँदै एकदुईवटा नयाँ कोईसनको बारेमा चर्चा गरेर हामी इक्जाम हलतिर लाँग्यौ । हामी पुग्दा इक्जाम सुरु भइसकेको रैछ । कपी लिदैं थिएं । चिनेको एकजना भाईले, म तिर हेरेर मुखमन्डल ज्यादै नमजाले बिगारयो । मैले सोचें; साला, यो चोटि पनि लास्टै आँडे पेपर बनाएछ कि क्या हो, फेरी गुल्टेला जस्तो छ । जे होस्, एकचिम्टी आश लिएर मैले आफ्नो सिट समाँते । कोईसन पेपर हेर्दै थिएं; एक नम्बरको त सजिलै लाग्यो । TU को इक्जाममा बिशेषत: इन्जिनिएरिङ्गमा, सबै प्रश्न स्वात्तै पढिहाल्नु हुन्न । होपलेस भइन्छ । पढाई जस्तो होस; पेपर त गजबको बनाउँछ TU ले । मैले पछाडिका प्रश्नहरु त्यतिखेर पढ्दै पढिन । जबर्जस्ती आफ्नो मगजले भ्याएसम्म दुइ’टा प्रश्न गरेर भ्याएं । एक घण्टा बितिसकेछ । मैले टाउको उठाएँ; तुरुन्तै मेरो साथी त कपी बुझाएर मतिर एक फिक्का नजर मिल्काएर निस्कियो । अरु पनि निस्कने तरखर गर्न थाले । एक्कासी कोठामा म’सहित मात्र चारजना भयौं । तिनिहरु धमाधम लेख्दै थिए । म के गरुं मैले सोच्न सकिन । पछडिका बाँकी प्रश्नहरु पढें । चारवटा त मैंले नपढेको च्याप्टरबाट सोधेको रै’छ । अरु पनि सबै कन्सेप्चुअल । एक्कासी टाउको भारी भयो । केही लेख्न मन लागेन । एकैछिनमा सायद इक्जाम सेक्सनको ठुलोबडो भनौंदो आयो । “पर्स, मोबाईल त खल्तिमा छैन नि ?” उसले नयाँ प्रश्न दियो । मैले खल्ती छामे । वास्तवमा मेन्टल प्रेसर बढी भएर होला, प्रथम पटक मैंले मोबाइल र पर्स खल्तिमै राखेर इक्जाम दिन थालएको रै’छु । त्यसले चाल पाईहाल्यो । सालाका आँखा गिद्दका भन्दा तिखा छन । मैले मनमनै सोचें । उ हान्निदै मेरो छेउ आयो । पर्स, मोबाइल र कपी तिनैथोक खोस्यो । “सामन लिन, एक्जाम पछी डिन कार्यालय आउनु ” बाहिर निस्केपछी मतिर हेरेर ईशाराको भाषामा बस यती भन्यो ।

बोझिलो पाईलासाथ म भने तुरुन्तै अघिकै चियापसलमा पुगें । मेरो साथी कैयौ दिनको भोको जस्तो गरी चुरोट पिउदै थियो । “बहुत प्यास लाग्यो यार” मैले भनें । “पिर नगर, कोदोको पानी मगा’को छु ।” उसले काउन्टरतिर हेर्दै अलिकती रुन्चे हाँसो लिएर जवाफ दियो । “मैले त्यस्तो प्यास भनेको हो त !” मैले भने । “छाड्दे, मैले तलाई नचिनेको हो र । तँ जातले मात्रै त बाहुन होस नि ।” उ खिस्स हाँस्यो । सेर्पा दिदिले तुम्बा अनी अरु अरु पनि दुई जग लिएर आइन । क्रमस: हामी भरिदैं गयौं । अलिकती परिवर्तन पाएपछी मैलें भनें: “केटा, यती बिहानै, त्यसमाथी खाली पेटमा, असर त गर्दैन नि !” “त्यस्तो हैन, पेट खाली भएर क् भो त ? निराशाका काला बादलले हाम्रो भबिस्यका गेट त बन्द गरेका छन नि ।” एक गिलास सिनित्त पर्दै अर्को हातमा चुरोटको ठुटो समाउदै उसले मात्तिएको झिनो स्वरमा उत्तर दियो ।लगभग एक डेढघन्टा त्यता बिताएपछी फेरी पुल्चोक कलेजतिर लाँग्यौ । त्यसबखत मेरो भन्दा उसको हालत ज्यादै अनौठो थियो । समाएन भने बाँकाटे हान्न थाल्थ्यो । बाटमा केटी देखे मुख हेरेर खिस्स हांस्थ्यो । डिन कार्यालयमा हाम्रो हालत देखेपछी त्यहाँका कर्मचारीहरुले केही नबोली अघिका सामन फिर्ता दिए ।

“कहाँ हराएको दिनभरी ?” घरपुगेपछी बैनीले सोधी । “मर्निङ वाक” मैले उत्तर दिएं । भन्न त मिल्दैन होला तर त्यो समयमा उ पाँच छक्क परेकी थिई । मलाई बहुत थकाई लागेको थियो । बिहानको ह्याङओभर पनि अली अली जिउदै थियो । त्यसैले चाँडै नै सुत्ने तरखर गर्न थाँले । मनमा अनेकौँ कुरा खेल्न थाले । के म यो जन्ममा इन्जिनियर हुन सक्दिन ? किन सम्पूर्ण सम्भावनाहरु समयसंगै झनझन क्षिण हुँदै गैइरहेछन ? लाग्छ; मैले यो बिषय नै छान्न नहुने । इलेकट्रोनिक्स जो पायो त्यहिले पढ्ने बिषय हो र ! यसको लागि त मीठो लगाव चाहिन्छ, नियमित परिश्रम चाहिन्छ । तर यस्ता कुरा सोचेर मात्रै पनि अब के गर्नु र ! नपर्नु खाल्डोमा परिहालियो । तर हरेस खान हुन्न । भनिन्छ नि; मानिस सधैं आफ्नो लक्ष्य नजिक पुगेर फर्किन्छ । मलाई पनि यि निराशाका प्याकेटहरुले त्यही बिन्दुमा पुर्याउदै त छैनन नि । अर्कोचोटी फेरी मजाले पढेर इक्जाम दिए त पास कसो नभईएला र ! मैले निखुर रातमा सुन्यताको साथ लिएर आफुलाई दरो बनाउने कोशीस गरें ।

समय आफ्नै लयमा बित्दै थियो । साथीभाईले नयाँ-नयाँ ठाँउमा जव पाएको समाचार मेरो पनि कानमा ठोक्किईरहन्थे । कसै-कसैले बिदेशको भिषा पनि भेट्टाईरहेका थिए । कोही-कोहिको अनेकौ शिर्षकमा आयोजित पार्टिको पनि फाट्टफुट्ट निम्तो आईरहन्थ्यो । म भने सबै संग लुकेर हिंड्न खोज्थें । आफन्तहरुले भेट्टाईहाले सिनियर दादाको कन्सल्टेन्सिमा काम गर्दै’छु भन्दिन्थे । ज्यादै दु:खसाथ कटाएं, त्यसताकाका ति छ महिना । बिचमा त्यही बिषयको ईक्जामको लागि मैले पनि फर्म भरेको थिएँ । यसपली अलिक बिसेस तयारी गरें । मेरो साथी र म प्राय: संगै बसेर पढ्थ्यौ । भाग्यले अन्तमा साथ दियो भन्नुपर्छ । हामी दुबइले बत्तिस हान्यौ यानिकी पास भयौँ । त्यो समयमा हामी यती खुशी थियौं; बिचरा यि शब्दहरु निरिह छन, कसरी ब्यक्त गरुन । त्यही साँझ बा लाई पनि फोन गरें । “ल ल मेरो इन्जिनियर छोरा, बधाई छ । अब काम खोजेस, टन्न कमाएस, बुहारी भित्रायस अनी हामीलाई सुखसाथ राखेस ।” बा ले आफ्नो खुशी यस्तै यस्तै शब्द मार्फत व्यक्त गरे । त्यो साँझ बुहारी भन्ने शब्दले मलाई मन्द काउकुती लगायो । जीवनले नयाँ मोड लिन खोजेजस्तो भान भयो ।

भोलिपल्ट सुर्यको किरणसंगै हिजोअस्तिको भन्दा भिन्नै मन लिएर उठें । आफुलाई साह्रै ताजा र हल्का महसुस गरें । त्यसैदिन बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा गएर ट्रान्स्क्रिप्टको लागि अनुरोध गरें । आफ्नो कलेजमा सम्पूर्ण क्लिअरेन्स गराएँ । क्यारेक्टर सर्टिफिकेट पनि लिएं । नमीठै लागे पनि टिचरहरुको बधाई खाएं । यसपछी अब मेरो जिन्दगीको अर्को यात्रा सुरु भयो । जवको लागि थुप्रै ठांउहरु चहार्न थालें । बिदेश गैहाल्ने स्थिती मेरो थिएन । दिनसँगै मन कमजोर हुन खोज्दैथ्यो । आफुलाई जबर्जस्ती बाँध्दै नयाँनयाँ ठाउँमा नयाँनयाँ आश लिएर CV र सर्टिफिकेटको कपी छोड्न थाँले । कतैबाट पनि केही प्रतिकृया आएन । म झन्झन निराश हुँदै गएँ । साँझ एक टाईम SLC का विध्यार्थिलाई ट्युसन लिएर आफ्नो खर्च टार्न थाँले । अब भने घरबाट विवाहको कुरो चल्दा म आँफैनै तर्किएर हिड्थें । यसरी नै बिते मेरा त्यसपछिका छ महिना, एक बर्ष, डेढ बर्ष । साथीभाईहरुपनी अब त धेरै पर भईसकेका थिए । ईन्टर्नेट पनि धेरै काम युज गर्थें । एक हिसाबले भन्नुपर्दा म जीवनका सबै पक्षदेखी ज्यादै नराम्ररी थाकेको थिएं । साँझ-साँझमा बढी नै पीउन थालें । एक्लै-एक्लै फोहोर नदिका तिरहरु चाहर्दा रमाइलो लाग्थ्यो । त्यतैतिर टहलिन खोज्थें ।

एक साँझको कुरो हो । म ढिला घर आईपुगें । ब्यागमा CV र ट्रान्सक्रीप्टको कपी थियो । कोठाको एक कुनामा फाल्दिएँ । अनी क्यान्डिल लाईटमा Derek Humphry को “Let me die before I awake” को पन्ना पल्टाउन थालेँ । अक्षरहरु रक्ताम्य देखेँ । Paulo Coelho को “Veronica Decides to Die” को सुरुसुरुको अध्यायको आँफैले रेखाकिंत गरिराखेका केही वाक्य फेरी पढें । मन झन भारी भयो । गोविन्दराज भट्टराईको “सुकरातका पाईलाहरु” पल्टाएँ । आफु नै ‘अनन्त’ जस्तो लाग्यो । “The Bell Jar” झिकें । बस झिकें मात्रै अनी Sylvia Plath लाई मनमनै सोल्युट गरें । जीवन त यही लेखिकाले भोगेकी हो । वास्तविक सत्य सायद महाशुन्य नै हुनसक्छ । सिलिङ्तिर हेरें । केही थिएन । लोडसेडिङ्को मध्य समय थियो । मैनबत्ती मलाई उज्यालो दिन आफुलाई खत्तम पार्दै थियो । बाहिर झ्याउँकिरी कराएको प्रष्ट सुनिन्थ्यो । धेरै टाढा एक हुल कुकुरहरु एकनासले भुकिरहेका थिए । म झनझन आफुलाई बोझिलो अनुभब गर्दै थियो । निस्सार त उसै थिएं, झनै निस्सार अनुभुती गर्न थालें । एक्कासी चिच्याउझैँ भएर आयो । छतमा गएं; दुई खिल्ली चुरोट भ्याएँ अनी खै के जोश आयो । ओरिजिनल ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट लिएर म चुरोट पिउदैँ घर नजिकैको गल्ली निर गएँ । अनी ति दुवैलाई लाईटरको भारी सहयोग लिएर अन्त्य गरिदिएँ । हेर्दै थिएँ; मेरो सात बर्षको कमाई बिस्तारै खरानी भयो । मनमनै सोचेँ, संसार भौतिक छ, साह्रै भौतिक । आफु सकिएपछी मानिसलाई पनि त जलाइन्छ । कि गाडीन्छ । त्यो भनेको जीवन उपयोगहिन भएपछी हामीले लिएको या समयले दिएको अनौठो बिकल्प हो । मरेको बस्तु सजाएर घरमा किन राख्नु , बेकार घर गन्हाउँछ, मन गन्हाउँछ । त्यो प्रमाणपत्रको पनि अब के काम थियो र ? उपयोगहिन थ्यो । जलाएर ठीक गरेँ ।

त्यो खरानी भएपछी तन मन दुवै हल्का भयो । कसैको बारे केही सोचिँन । मलाई भोलिको मतलब छैन । समय जसरी कटोस । समाजले जे भनोस । बाले गाली गरुन या नगरुन, मलाई बाल । तारा हेरेँ । भुईँमा हेरेँ । आफ्नै हत्केलामा थुक्न खोजे तर थुकिनं । फेरी किन हो कुन्नी खिस्स हाँसे । अनी ठुलै स्वरमा चिच्याउँदै घरतिर लाँगे । “अब म इन्जीनियर होइन, म इन्जीनियर होइन, म इन्जीनियर होइन…… ” घरछेउमा पुगेपछी हातको ठुटो चुरोट फल्दिएँ अनी कुल्चदैँ मनमनै सोचेँ: “धन्न, आफुलाई काउन्सिलमा रजिस्टर गरेनछु….. !”

तँ र म


सत्य !
हिजोआज, लाटो ऐना अगाडि
म आँफैलाई ‘म’ मन पर्दैन ।
निसंकोच, निसन्देह
तँलाई कसरी मन परोस ।

तँ त जुलुम सुन्दरी
जुनको टकले धपक्क बलेकी परी अरे ।
सुन्दैछु, चोक गल्लिमा तेरै चर्चा छ ।
आँखा तेरो, म्रिगका जस्ता रे ।
केश तेरो, स्वच्छन्द छहरा रे ।
अण्डाकार अनुहार तेरो, पुर्णेको चन्द्रमा रे ।
लामो घाँटी तेरो, ढुकुरको जस्तो रे ।
बुझ्दिन म त,
फिगर तेरो, छत्तिस-चौबिस-छत्तिस रे ।
अनी उचाई, गहिराई
कतै खोट लाउनै नसकिने, टम्मै मिलेका रे ।

यसरी देख्दैछु यहाँ
तेरो रुपको पाईलैपिच्छे
दुनियाँले काढेका रालहरु ।
दुनियाँले निलेका थुकहरु ।
परीवेश अग्राहय लाग्छ ।
सुन्दिन कतै,
तेरो मौलिकताको चर्चा ।
मेरो समझमा कहिल्यै आएन,
तेरो मगजको बयान ।

तिनताका, कोट्याएर घाऊ
तँ सामु आफ्नो व्यथा पोखेथेँ ।
तैँले त उल्टै हरामी कथाकार भनिस रे ।
मायाले तेरो हात छोएथेँ,
सिधै तैँले बलात्कार भनिस रे ।
आफु सदा झुकेरै भए’नी
तँलाई सहीपथ डोर्‍याउन खोज्दा,
स्वार्थी पुरुषको अहंकार भनिस रे ।
अब त मजाले बुझ्न सक्छु,
आखिर दुरुस्तै रहिछन यहाँ
तेरो थोपडा र मेरो मन ।
मेरो थोपडा र तेरो मन ।

मेरो अमुल्य समयलाई
तैंले त्यसबखत पिरो बनाइस ।
म तेरो अभावमा रोगी थिएं,
मौका छोपेर, औँशिको किरो बनाईस ।
अनी असन्तुलित मेरो मनको समिकरणमा
जाली सुत्र छिराएर, स्टेप बाई स्टेप अगाडि आईस ।
र मलाई फगत नांग्लो जत्रो जिरो बनाईस ।
तर सुन, नखरमौली…
त्यतिखेर तँ सँग फोक्कडमा ठोक्किक्दा
मेरो मुटुमा उठेको टुटिल्को,
मेरो गिदिमा उम्रेको डन्डिफोर
समयसँगै सन्चो भईसके ।
म बिल्कुल ठीक छु ।
तँ नभएर के भो त !
म त्यसै यहाँ रम्न सक्छु ।
म त्यसै यहाँ घुम्न सक्छु ।
मेरो आफ्नै सर्कल छ ।

सुर्य तेरो पनि, मेरो पनि ।
चन्द्रमा तेरो पनि, मेरो पनि ।
बर्खाको बाछिट्टाले,
तँलाई पनि भिजाउँछ ।
मलाई पनि भिजाउँछ ।
बसन्तमा कोकिल संगितसंगै
फुलेका पर्पल सिरिसहरु त्यसै झर्छन,
समय आउँछ, त्यसै फुल्छन ।
अन्धकारमा,
तँ पनि देख्दिनस, म पनि देख्दिन ।
शशिकला,
न तँ बुझ्छेस, न म बुझ्छु ।

आश्चर्य लाग्छ,
आखिर के का लागि
मैले तँलाई रोजेको नाटक गरेँ ।
तर अब गुनासो छैन,
म बाठो भईसकेँ ।
तेरो सारहिन अस्तित्वको,
सारहिन याद अब म कदापी बोक्दिन ।
तँलाई कल्पेर मरेतुल्य कविता कदापी कोर्दिन ।
एक्लै हुँदा, आहा ! रमाइलो छ बर्तमान;
सायद, सुन्दर छ भबिस्य…
तँलाई जपेर त्यसलाई कुरुप बनाउँदिन…
अहँ बनाउँदिन…
पक्कै बनाउँदिन…!!!

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine