Monthly Archives: अप्रील 2009

जिन्दगी


सबै चिज समाउनु पर्ने, जिन्दगी एक हात हो ।
सबै चिज गुमाउनु पर्ने, जिन्दगी एक मात हो ।

बांच्नु छ समयसंगै, अंगाल्दै सम्पूर्ण भावहरु,
तैपनी सपनाको आश लाग्ने,जिन्दगी एक रात हो ।

पलपल लागिरहने अनगिन्ती भोक लुकाइ,
अगाएरै हांस्नुपर्ने,जिन्दगी एक थाल भात हो ।

भौतिकताले जती छोपेपनी,मनको सांघुरो गोरेटोमा
एक्लै बांच्न नसकिने, जिन्दगी तितो साथ हो ।

गूड्दै नगूडेपनि यो ब्रितमा, इच्छाका भकुन्डाहरु,
जवर्जस्ती गूडाउनुपर्ने,जिन्दगी केवल एक लात हो । 

सबै चिज समाउनु पर्ने, जिन्दगी एक हात हो ।
सबै चिज गुमाउनु पर्ने, जिन्दगी एक मात हो ।

Advertisements

म र तिमी


निष्पट्ट अंध्यारो रात छ ।
म एक्कासी चिच्याउछु …
मेरो रित्तो घर त्यसै थर्कन्छ ।
बलियो चक्रवतले,
मलाई बेटारेजस्तो लाग्छ ।
बहिर हेर्छु,
वास्तवमै ठुलो झरी परेको छ
तिमी यो रातमा
सुरक्षित त छ्यौ…?
म झस्कन्छु ।
खै कस्तो जडत्वले
छोएको छ मलाई,
बर्खाको आधारातमा पनि
तिमीलाई सम्झिरहन्छु ।
जुन र घाममा, वनमा
अनी पंक्षि पंक्षिमा
तिम्रो कोमल सुन्दरता देखिरन्छु ।
पंक्षिको एउटा प्वांख खस्दा,
तिम्रो अङ्ग चुडीएझैं लाग्छ ।
वायुको चपेटामा बादल भौतारिदां,
तिम्रो सम्झना भौतारिन थाल्छ ।
जब म कल्पनामा हराउन चाहन्छु,
तिमी मुर्त भई मुस्कुराएजस्तो लाग्छ ।
चांदनी रातमा टिल्पिलाईरहेको तारा नियाल्दा,
तिमी टाढा बसी मलाई चिहाइरहेछौ जस्तो लाग्छ ।
तिम्रो कतैको अती सानो घाऊ पूर्न,
आफ्नै प्राणपुष्पले पाए हुन्थ्यो भन्ने
पलपल मनमा लागिरहन्छ ।
दिनमा होस् या रातमा,
बिचबिचमा त्यसै मुस्कुराउन मन लाग्छ ।
त्यसैले,
यो मध्यरातमा
म तिम्रै कविता कोरिरहेछु ।
“ममताको वार लगाउछ्यौ,
जीवनपथमा तिमी…
एकान्तमा आईदिन्छौ,
अश्रुको बांध नै तिमी…
स्वछन्द खहरेजस्तो,
मुस्कानको बाफिली तिमी…
मेरो मनको कुना कुनामा पुग्ने,
रवी सरी कवी नै तिमी …”
समयको जुन गतिमा पनि,
मलाई तिम्रो गुनगान अभ्यस्त भईसक्यो ।
मेरो याद्लाई तिमीले पनि
काख लिएको छौ भन्ने सम्झंदा,
म भित्र स्वाभिमान जाग्छ ।
त्यसैले,
सौन्दर्य तिम्रो नहेरेरै,
झुठो गाथा नगाएरै,
स्वार्थले भरेको आधुनिक जीवनलाई,
कुनै एश्वर्यको स्पन्दनले नकम्पाएरै पनि
यहाँ, यस धरतिमा उभिदां उभिदैं,
मलाई तिम्रो माया लाग्छ ।
यो मेरो प्रेमको आधार,
तिम्रो शरीरको रुपरेखा होइन,
किन्तु मेरो प्रेमको अस्तित्वलाई
अमर राख्ने, तिम्रो र मेरो
अपुर्व साथ हो ।

मन लाग्यो


आज फेरी आंफैसंग रुन मन लाग्यो ।
दिलभित्रको तिम्रो तष्विर छुन मन लाग्यो ।

धेरै रहेछन मनसंग दिर्घजिवी घाउहरु,
आंखा निचोरेर आंशुले धुन मन लाग्यो ।

तिमीले दिएको जीवनको मीठो अर्थ सम्झदा,
मलाई फेरी ठुलो मान्छे हुन मन लाग्यो ।

हराएपछी आफ्नो सम्बन्धको गीत गजल,
घचेट्दै समय, तिम्रो स्वर सुन्न मन लाग्यो ।

आज फेरी आंफैसंग रुन मन लाग्यो ।
दिलभित्रको तिम्रो तस्विर छुन मन लाग्यो ।

रोवोर्ट र ख्याउटेका कविताहरु


केटीको कुर्कुच्चा र गाला लेख्ने
कविदेखी राष्ट्र र राष्ट्रीयताको
सिङगो माला गांस्ने कविहरु
अक्षरका एकसरा बन्दुक लिएर
खडा छन, आधुनिकताको
यो टन्टलापुर घाममा ।
शशस्त्र रोबोर्टहरुको,
नाङगो हस्तक्षेप ब्याप्त छ,
कविताको लोभलाग्दो अस्मितामाथी…
कविहरु निरिह देखिन्छन ।

केवल लोडसेडीङको समयमा
रोबोर्ट मौन रहन्छ,
यही मौका छोपेर कविहरु
अक्षरका बन्दुक भावनाले भरेर
आन्दोलनमा पुन खडा हुन्छन ।
भौतिकबादी सोचलाई
निर्मुल पार्नु, ख्याउटे कविहरुको
अन्तहिन उद्देश्य…
आफ्ना लांखौलाख कविताहरु
सडकमा पछार्दैछन ख्याउटेहरु ।

मानव सभ्यताको सुरुवात नै
भावनाको प्रस्तुती हो ।
यसको कलात्मक नमुना, कविता ।
एउटा ख्याउटेको बेजोड बिस्लेशण,
रोबोर्टहरु संहदैनन…
शिर्षकको माग गर्छन्
आधुनिक प्राबिधिको युगमा
क्षणभरमा एक लाख कविता लेख्न ।

कविता नियम होइन,
ख्याउटे पुन व्याख्या गर्छ ।
यो आत्माको पहिचान हो । 
संस्कारको बिहान हो ।
सभ्यताको क्रान्ति हो ।
जीवनको अर्थ हो ।
कविता,
एउटा मर्म,एकान्त,सुख दु:ख हो ।
ब्यथा अनी बिगत र बर्तमानको
घर्षणबाट निस्कने तापले पैदित
अन्तहिन तिर्खालु प्याष हो ।
समग्रमा कविता अर्को एउटा कविता हो ।

पुन लोडसेडिङ,
रोबोर्ट मौन रहन्छ ।
ख्याउटेहरु खडा छन,
अन्तहिन युद्द जरी छ,
फगत भौतिकताको बिरोधमा
र जसको साक्षी छन,
म जस्ता लांखौलाख ख्याउटेहरु
र यस्तै अनगिन्ती कविताहरु ।