Monthly Archives: सेप्टेम्बर 2009

ल, भुन्टेकी आमा ल



भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
तिमी मेलापातमा जाउ,
म भुन्टे फकाउँछु
खाजा तुल्याउँछु
घर सफा गर्छु
फुर्सद भयो भने,
बरु सिनेमा हेर्दिन्छु ।
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
इराक पड्किरहँदा,
छटपटिदैँ पिडाबोध गर्दिन ।
श्रिलंका डढीरहँदा,
“नाक पिरो भो” भन्दिन ।
अभाव र चित्कार सुन्दा,
लंगडो भइदिन्छु ।
छिमेकमा बन्दुक पड्कदा,
बहिरो भईदिन्छु ।
छोरीचेली बलात्‍कृत भए,
अन्धो भईदिन्छु ।
यो अत्याचार र शोषण
सजिलै सहिदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
भित्र रुदैँ बहिर
गदगद भईदिन्छु ।
संसार यस्तै रहेछ,
म चित्त बुझाईदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।
ल, भुन्टेकी आमा ल …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Advertisements

सप्ताहान्तको सुधा


देउरालीमा,
त्यो सिरेटोको सुतन्त्रसँगै
सप्ताहान्त मेट्दा
मेरो मुटु छेडिन्थ्यो;
तिम्रो अंगालोमा
एक्कासी ओत लाग्थेँ ।
तिमी,
बर्खापछी भरिएको
कुन्डझैँ टलपल हुन्थ्यौ,
म रित्तो गाग्रिझैँ प्यासी…
तिम्रो महकले झन
प्यासको सारीमा थप्थ्यो,
र त्यही महलो ओठ चुम्थेँ ।
सप्ताहन्तमा,
त्यो स्वारस्य
साँच्चै सुधापान
भन्दा कम थियो र !!!

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

मालिक र साङ्लाहरु


सेतो घरको मालिक
अर्थात प्रचुर घमन्डको
सीप र कौशलको जिँउदो सालीक
एकोहोरो जिद्दी गर्छ
र कड्कीरहन्छ ….

“तिनिहरु मानव होइनन
पक्कै साङ्ला हुन,
यो सुन्दर, सुगन्धित
शान्तिप्रेमी संसारमा
घिनलाग्दा, गन्हाउने
छुच्चा साङ्लाहरु …
सभ्यता बिकासक्रमका लागी
घातकसिद्द हुनेछन ।
यी,
सेता रगतका फगत जिँउदाहरु
हामी शान्तिप्रेमी, दयालु
र रातो रगतका;
गौरवशाली प्राणिहरुको लागि
बिख हुन, दोष हुन, काँडा हुन ।
त्यसैले,
यिनिहरुको नरसंहार
आजको संसारलाई जरुरी छ ।”

शक्तिले उद्दिप्त त्यो मालिक
फगत उसका चस्माले
देखेका साङ्लाहरुलाई
नष्ट गर्न, एक्कासी
ठाडो आदेश जारी गर्छ ।

अन्तत:
आकाशमा फाइटर प्लेन
गोला, बारुद र बमको
एकोहोरो बर्षा …
फलस्वरुप,
कैयौ भावनाको हत्या
रोदनको, चित्कारको
बेदनाको, ममताको ।
चौतर्फी छटपटी र कोलाहल
धुंवामा हत्यामाथी हत्या …
रुमाल्लिए ती पीडित आत्माहरु ।

युद्दको अन्तपछी
त्यो घमन्डी मालिक,
रक्त्तकुन्डमा पौडेर
सत्य निचोर्दै
मानवसागरमा साङला खोज्दैछ,
अझैपनी …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine