Monthly Archives: अक्टोबर 2010

मेरो आँखामा ‘प्रेम’


Writer: Deepak KC, Bardiya

प्रेम वास्तवमै एक अदभुत अनुभुती हो; मन र मस्तिस्कलाई आहलादनको चरमोत्कर्शमा लैजाने एक अदभुत अनुभुती । प्रेम नौलो बिषय होईन मानव सभ्यताकालागी र यसका परीभासाहरु युगानुकुल हुँदै आएका छन तर प्रेमको नैसर्गिक समरुपता भने हरेक पारीभाषामा छरप्रष्ट भएकै हुन्छ । प्रेमले सांच्चिकै मानिसलाई सबै अहंकार र अहममन्यतालाई बिर्सन रामसेतु बनेको हुन्छ र प्रेमले नै मानिसमा जीवनप्रतिको विश्वासलाई दरिलो बनाउने काम पनि गर्छ । प्रेमका सायद व्यक्तिपरक र स्थितिपरक अनुभुतिहरु हुनेगर्छन तर जे समान हुन्छ प्रेमका हरेक अभिब्यक्तिहरुमा त्यो हो प्रेमको अलौकिक या पारलौकिक अनुभुती । प्रेमले अचेतन मस्तिष्कका पनि सबै अवयवहरुलाई चेतनाको परममुद्रामा घनिभुत पार्दछ र यस्तो चेतना जसका सामु हरेक चेतना फिक्का लाग्दछन र मन केवल त्यही चेतनाको अधिनस्त रहन चाहन्छ । सायद प्रेम एकमात्र एउटा यस्तो शाश्वत सत्य हो जससँग मानिस सहजै एकाकार हुनसक्दछ र एक यस्तो सत्य जसका अगाडि अरु सबै सत्य मिथ्या लाग्दछन । प्रेममा नै मानिस आफ्ना सबै मुल्य र मान्यताहरुलाई थांती राखेर शिशिरपछीको बसन्तमा पलाउने नयाँ पालुवा सरह पलाउन चाहन्छ; सबै जडतालाई तोड्दै; सबै हठलाई बिश्रान्ती दिँदै ।
प्रेममा भनिन्छ मानिस संसार सारालाई भुलिदिन्छ । सायद यस सत्यको बिश्लेषण यसरी पनि हुनसक्छ । मान्छेले जीवनमा जे अनुभुत गरेको हुन्छ, उसका ईन्द्रियहरुले जे महसुस र जे भोगेका हुन्छन, त्यो नै मानिसको लागि उसको संसार हो र सायद मानिसको कल्पना पनि उसको कुनै बिशेष ईन्द्रियले महसुस गरेको एक संसार । जब मानिस प्रेममा घनिभुत हुन्छ अनी उसका लागी यी सारा संसारका औचित्य समाप्तप्राय भएर जान्छन र उसको लागि एकमात्र संसारको प्रादुर्भाव हुन्छ र त्यसैमा उ बिलिन हुन चाहन्छ र त्यो मात्र प्रेमको संसार हुन जान्छ । प्रेममा अरु सबै कुराहरु अप्रासंगिक हुन जान्छन या भनौ मन तिनिहरुलाई अप्रासंगिक बनाउने भागीरथ प्रयासमा तल्लिन बनिरहन्छ । सत्य जे भएपनी त्यसको समागम प्रेममा नै हुन्छ, हो प्रेममा त्यसको समागम हुन्छ । हरेक भावना अनी कल्पनाहरुका नदी अन्तत: प्रेमकै महासागरमा विलय हुन्छन र तिनलाई बिलय हुनुको दु:खमन्यता हुंदैन पनि । प्रेमनै एउटा यस्तो सत्य हो जससंग एक रंकदेखी एक राजासम्मले तादम्यता राख्दछन र जसलाई अंगिकार गर्न उनिहरुलाई असहजताका भिरहरु चढ्नु पर्दैन पनि । सायद त्यसैले प्रेम यती महिमामन्डित भएको छ र प्रेममा मानिस आफुलाई समेत भुलिदिन्छ …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Advertisements

म अलिकती औँशी चाहन्छु


प्रत्येकपल्ट;
पुर्णिमाका चिसा रातसंगै
निराशाका असिम तरंगहरु
मेरो आफ्नो अवनिमा
अवतरित भएपछी
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।

संसारले नदेखोस,
अब मेरा कुरुपताका रंगहरु ।
समालोचकहरु मौन बसुन,
अशोभित, असमाप्त
मेरा अनगिन्ती कवितामाथी ।
अश्रुझैँ असीमित, असंगत ति शब्दधारामाथी ।

मलाई,
त्यो क्षणिक उज्यालो चाहिंन्न ।
जहाँ
निराशाका प्याकेटहरु
सदा अक्षोभ्य रहन्छन ।
अहंकारका ढिक्काहरु
सदा अबिनाशी रहन्छन ।
कोलाहल, चिच्याहट
क्रन्दन र द्दन्द्दका
ज्वालामुखिहरु…
हो, फुटिनैरहन्छन ।

बरु म
झ्याँउकिरीसँगै गाउन चाहन्छु ।
जुनकिरिसँगै नाच्न चाहन्छु ।
एकमुठी समय आफ्नो पासमा राख्दै,
फेरी एकचोटी बाँच्न चाहन्छु ।
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine