Monthly Archives: अगस्ट 2015

गजल


रहरहरु फरक छन्, तिम्रा मेरा ।
हो, डरहरु फरक छन्, तिम्रा मेरा ।

रित्तो समाजमा जन्मिए, सस्तैमा बिक्छु ।
शहरहरु फरक छन्, तिम्रा मेरा ।

असन्तुलित सपनामा, मौन छटपटी ।
प्रहरहरु फरक छन्, तिम्रा मेरा ।

बेदनात्मक जिन्दगीका, अमिला घाउ ।
जहरहरु फरक छन्, तिम्रा मेरा ।

कम्पनपछी भत्किए, आशा भरोसा ।
हो, घरहरु फरक छन्, तिम्रा मेरा ।

सुसाएको सुनसान नदी, भ्रान्ती हैन ।
लहरहरु फरक छन्, तिम्रा मेरा ।

रहरहरु फरक छन्, तिम्रा मेरा ।
हो, डरहरु फरक छन्, तिम्रा मेरा ।

कालो भुईँमा नीला रङहरु


प्रत्यकदिन,blue-m1
म बेसुरले हिँड्छु ।
हामी बेसुरले हिँड्छौ…!

पाइला मेटिन्छ या मेट्छौ ।
लक्ष्य बोकिन्छ या बोक्छौँ…।

समयसँगै,
शनै: शनै,
अल्झिन सकिन्छ,
अँध्यारा भिरहरुमा ।
बल्झिन सकिन्छ,
उज्याला पिरहरुमा ।
खुल्न पनि सकिन्छ.
यदाकदा झिसमिसमा ।
सिमसिममा ।
कुनै दुर्लभ पुर्णिमामा ।

अविष्मरणिय एक साँझ,
निशब्द प्रकृति ।
निस्सार अवस्थिति ।
शाश्वत आकृति तिम्रो,
वरिपरी ।

हेराहेर, कदापी सत्य होइनन् ।

चलायमान मस्तिष्कका तारहरुले,
जब आँखाका पछील्तिर,
बन्द परिपथ बनाउंछन्,
अनि हामी देख्छौं,
र देखेझैं गर्छौ ।
जस्तो एक प्रकारको भाषा,
जुन हामी बुझ्छौं,
र बुझेझैं गर्छौ ।

निष्कर्ष: पुर्णिमाका जम्काभेटहरु अमर हुन्छन् ।

पुन:
म बेसुरले हिँड्छु ।
हामी बेसुरले हिँड्छौ…!

पाइला मेटिन्छ या मेट्छौ ।
लक्ष्य बोकिन्छ या बोक्छौँ…।

बिस्तारै ,
कालो भुईँमा नीला रङहरु अष्पष्ट हुन्छन् ।
पुर्णिमाहरु भ्रम हुन ।
भ्रमहरु पुर्णिमा हुन ।