Category Archives: Daiko Diary

“तितो सत्य”- गजल


निरन्तर जारी यो भय कस्तो ?
प्रतिगामी यो समय कस्तो ?

बिरलै भेटिन्छ ईतिहासमा …
भाई माथि भाईको जय कस्तो ?

थोरै संवेदना त हुनैपर्ने …
माया ममताको क्षय कस्तो ?

जता हेर्‍यो उतै तनाव मात्र
हुने हो अब प्रलय कस्तो ?

हेर्न चाहन्छन यि आँखा सधैं
नयाँ बिहानिको उदय कस्तो ?

निरन्तर जारी यो भय कस्तो ?
प्रतिगामी यो समय कस्तो ?         -Sudarshan Gautam

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Advertisements

इश्वरसंग गुनासो


ईश्वर !
तँ सञ्चै होलास
मलाई साह्रै बिसन्चो छ
म आज साँघुरो परीवेशमा
बौलाउन लागेको कुकुरझैँ
भौतारिंदै गल्ली गल्ली डुल्दै छु
ईश्वर !
समयसंगै दिनहरु बिते,
दिनसगैँ उमेर बित्दै छ
म अहिले तेइसौँको सघाँरमा छु
बुझ्नेहरु मलाई युवक भन्छन
तर ईश्वर !
मलाई जवानी मन पर्न छाडयो
किन थाहा छ ?
म पढेलेखेको छु
म नयाँ बिहानी खोज्न चाहन्छु
मेरो जोशले उर्लदों खहरे तरौँ भन्छ
शब्दलाई शक्तिमा परिवर्तन गरौँ भन्छ,
तर विवसता म त्यो गर्न सक्दिन
मेरो हर पाइलामा लगाम लगाइन्छ
त्यसैले मलाई जीवन निरर्थक लाग्छ
ईश्वर !
तैँले दिएका उपहारहरु बेकार भएका छन
यि खुट्टाहरु हिंड्न सक्दैनन
यि मुखले बोल्न सक्दैनन
यि हातहरु चल्न सक्दैनन
तर ईश्वर !
म लङगडो होइन
लाटो पनि छुइँन
अनी डुंडो पनि होइन
इश्वर !
यसो चिहाएर हेर त
सबै भात्किएका छन
मन हरु भात्किएका छन
मनसगैँ देश भात्किएको छ
म अन्धोझैँ बसेको छु
मेरो विवसता
म केही गर्न सक्दिन
ईश्वर !
तँलाई थाहा छ ?
मेरी एउटी प्रियसी
अनी आमा छिन
बाउ थे, भाई थ्यो
मारिए अरे
मर्ने बेलामा छोरा छोरा
दाई दाई भन्थे रे
तेरो त शुन्यमा भेट हुंदो हो
एकचोटी सोध है
अतृप्‍तिमा मर्नुको पिडा
ईश्वर !
म जवान छु
म मेरी प्रियसिसँग सामेल हुन चाहन्छु
मेरी आमा मृत्‍युसंग संघर्ष गर्दै छिन रे
म उनलाई अन्तिम भेट दिन चाहन्छु
तर गाँउ फर्कने बातावरण छैन
म गाँउ गए आमा शोकमा पर्छिन
म मर्ने बेलाकी आमालाई शोकमा पार्न चाहन्न
एक रातसगैँ नभएकी प्रियसिलाई बिधवा पार्न चाहन्न
भन ईश्वर ! म के गरुँ ?
ईश्वर ! तैँले जवानी त दीइस
तर यो जवानीको सार्थकता भएन
म स्वतन्त्र भएर बाँच्न चाहन्छु ।
म विचारको दन्द गर्न चाहन्छु
म देशको मुहार फेर्न चाहन्छु
म मेरो गाँउ जान चाहन्छु
म मेरो बस्ती जान चाहन्छु
म मेरी आमालाई हेर्न चाहन्छु
म मेरी प्रियालाई भेट्न चाहन्छु
समय अनुकुल गराइदे
यो कालो कालखण्डको अन्त्य गराइदे
यदी यती गर्न सक्दैनस
रमिता हेरी बस्छस भने
तँ के को ईश्वर
बरु मलाई पनि त्यतै बोला
म त्यतै आउँछु
किनकी यो विक्रित परीस्थीतीमा
दर्शक भएर
म मुल्यहिन जवानी बाँच्न चाहन्न !!!                               Sudarshan Gautam

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

काल…


गाउँ गाउँमा हल्ला चल्यो,
बस्ती बस्तीमा हल्ला चल्यो
आज कालहरु आउंदैछन
ढोका थुनेर बस्नु…
म छक्क परेँ !
काल ! कस्तो काल ?
के काल पनि सुचना दिएर आउँछ र ?
म सोच्न वाध्य भएँ ।

म केटाकेटी छँदा सोच्ने गर्थेँ,
काल डरलाग्दो हुन्छ,
दारा पलाएको हुन्छ, भयंकर हुन्छ ।
उमेर बित्दै गयो, त्यो भ्रमको पनि अन्त्य भयो ।
तर आज अर्को भ्रम
मेरो मगजले काम गर्न छाड्यो ।
ति हल्लाहरु केटाकेटी तर्साउन
प्रयोग गरिएका अस्त्र जस्ता लाग्थे ।
तर गाउँमा चलेको हल्ला
सत्य, असत्य पत्याउन गाह्रो…
म दिगभ्रमित भएँ ।

मलाई थाहा छ,
काल अद्रिश्य हुन्छ ।
अज्ञात हुन्छ ।
बाजा बजाएर आउँदैन ।
सुटुक्क आउँछ,
टिपेर लैजान्छ ।

तर आज सुनें, काल आउंदैछ
सबै कांप्दै ढोका लगाउन ब्यस्त…
द्रीश्य अनौठो ।
म पनि त्यही द्रिश्यको अनुसरणमा ।

एकछिनपछी एक हुलको आगमन,
हुलको गर्जन…
पल्लाघरे दाइको उपस्थिती,
चड्कनको बर्षा,
अस्त्र शस्त्र हुलको गमन ।

अनी त, ढोका खुल्ला,
पल्लोघरमा मान्छेको भिड,
मास्टरको मृत्‍यु…!
संरचनाको बिनाश,
मेरो कालसंग परिचय,
मलाई कालको चेतावनी…
गाउँ नबस्न धम्की
अनी मलाई विश्वाश,
काल !
मान्छे ! मान्छे !
काल !!!                                                                Sudarshan Gautam

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

चुरोट र बेश्या


चुरोट जो नसल्काउन्जेल
पूर्ण रहन्छ, स्वादले भरिपूर्ण रहन्छ ।
सल्काएपछी बिस्तारै बिस्तारै धुंवा बनेर उडछ
र खरानीमा परिणत हुन्छ धेरै भाग ।
अन्तत:
थोरै भाग बाँकी रहन्छ फिल्टरको रुपमा
त्यो पनि फ्याँकिन्छ अस्तित्वबिहिन भएर
चुरोट जतिजती सल्किदैँ जान्छ,
मान्छेले अनौठो अनुभुत गर्छ ।
जब फिल्टर सम्म पुग्छ चुरोट,
चुरोटको स्वाद लिएको मान्छेलाई फिल्टरको के काम,
फ्याँकिदिन्छ बेबारिस बनाएर
मलाई त्यो फिल्टर लाग्दछ
उमेर ढल्किसकेको एक बेश्या समान !    Sudarshan Gautam

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

खोसिएको कविता र बा को बिलौना


चारैतिर हलचल छ
करिब एकदसक पहिले लेखिएको कविता
खोसिएको छ रे !
मेरो बा सालीन मुद्रामा मलाई प्रश्न गर्छन्
कस्ले खोस्यो बाबु ? त्यो कविता…
म निरउत्तर हुन्छु
म मुर्तिझैँ उभिन्छु उनका अगाडि !
                        त्यो ब्रिद्द मन
                        रुन्छ, कराउँछ, छटपटिन्छ 
                        अनी थकित मुद्रामा बर्बराउन थाल्छ…
हरे शिव !
                         आज मेरो अस्तित्व हरायो 
                         मेरो सँरक्षक हरायो,
                         मेरो ढुकढुकी हरायो ।
उनका वाक्यले
म स्तब्ध हुन्छु
अनी अझै निरउत्तर पनि 
                         उनी अर्धचेत मुद्रामा
                         अझ बर्बराउंछन 
                         हाय !  मेरो कविता
मेरो भुत, मेरो वर्तमान, मेरो भविष्य
                        तँ कहाँ गईस ?
                        तँ कहाँ परिस ?
उनका कारुणिक आवाजले
मलाई अझ गम्भिर पर्छ ।
उनी अझ थप्छन 
                         “बाबु !
त्यो कविता त्यती सस्तो थिएन,
खोटो थिएन
अर्थहिन थिएन,
त्यो मौलिक थियो
त्यो प्रत्येक नेपालीको रगतले लेखिएको थियो
जो साहस बाँच्थ्यो, समानता र सदभाव गाँउथ्यो !”
उनी घरी घरी बेहोशिमा भन्छन
ए………….ए……………ए……….
त्यो ब्यापारीको कब्जामा रहेछ,
खोसेर ले, खोसेर ले…
त्यो कविता सहिदले दिएको नासो हो,
त्यो कविताले देश भन्थ्यो, जनता भन्थ्यो,
बुद्द भन्थ्यो, अब कसले भन्छ ?
उनी बिलौना गर्छन्,
आक्रोशित मुद्रामा प्रश्न गर्छन्…
बारम्बार दोहोरिने उनका प्रश्नले
म जुरमुरिन्छु, घचघचिन्छु
अनी सडकतिर दौडन्छु
त्यो कविता फर्काउन,
जिन्दाबाद…….मुर्दाबाद……..
हो यस्तै यस्तै नाराको साथ ।                          BY: सुदर्शन गौतम  

किन मान्छे ?


सत्यलाई बङ्गाएर बुझ्छ किन मान्छे ?
लहैलहैमा पछी पछी कुद्छ किन मान्छे ?

मानिस नै हो बिनासको आग्या दिदैं हिड्छ
त्यसैलाई तर आज पुज्छ किन मान्छे ?

सिद्दी सक्यो, रित्ती सक्यो देश पुरै आज
पाउनु छैन केही भने जुध्छ किन मान्छे ?

केही गर्नु पर्ने बेला आएको छ आज…..
आंखा चिम्ली, बुझपचाई सुत्छ किन मान्छे ?

सत्यलाई बङ्गाएर बुझ्छ किन मान्छे ?
लहैलहैमा पछी पछी कुद्छ किन मान्छे ?   Sudarshan Gautam