Category Archives: Stories

म इन्जिनियर होइन


खै के हुन्छ, हुन्छ; जब ईक्जाम आउँछ अनी मलाई खुब साहित्यिक हुन मन लाग्छ । मनभित्र गुम्सिएर रहेका उकुसमुकुसहरु ह्वात्तै बाहिरिन खोज्छन । घोत्लिएर समय काट्छु । घर, कोठा अनी आफ्नो आन्तरिक या बाह्य, दुवै परिवेश, कत्ती पनि जाती लाग्दैनन । कोठा त्यसै-त्यसै फोहोर जस्तो लाग्छ । बाहिर निस्कन्छु; सायद आफु हतारमा हुन्छु होला, अनी सारा संसारनै हतारिएको भान हुन्छ । सडकमा घिस्रिरहेका मानिसहरु हेर्छु, सबैको हालत मेरो भन्दा फरक, बिल्कुल फरक जस्तो लाग्छ । निस्सार जीवन त मेरो मात्रै होला, म चुरोटको धुवाँसँगै यस्तै यस्तै सोच उडाउने गर्छु । त्यो उड्छ, अनन्त आकाश छुन, त्यसको उडाईसँगै म वर्तमान जिन्दगीका उलटपुलट किरणहरु अन्तै परावर्तन गर्ने भरमग्दुर प्रयास गर्छु । मेरो सुदुर भबिष्य अन्योलग्रस्त छ । पूर्णतया अनिश्चित । यो सम्झँदा पनि मन भारी भएर आउँछ । फेरी आफैँलाई सम्झाउने प्रयास गर्छु । कस्को चाँही भबिस्य फिक्स हुन्छ र, सबै पीडित छन, यो दु:खै दु:खले भरिएको गुह्य जिन्दगी बिताउने तँ मात्रै कहाँ हो र !

भोली ईक्जाम छ; Instrumentation II को । सातौँ चोटि दिदैँ छु । पढेकै छु क्यारे । च्याप्टर टु को प्रोग्राम बाहेक अरु त आउँछ नि ! मन ढुक्क पार्ने प्रयास गर्छु । अर्को मनले भन्छ; त्यो प्रोग्राम पनि पढ, भोली त्यही मात्रै आयो भने के गर्छस । एक्कासी मनस्थिती शिथिल भएर आयो । उठेर घोकुँ कि । तर हैन, छाड्दे, पास फेल कहाँ सत्य हो र । तिनिहरु त सत्याभास मात्रै हुन । समाज चलाऊन मानिसले बनाएका साला कुनियमहरु । म कोल्टे फर्कन्छु । आज निद्रा लागि’रा छैन । भोलिको लागि चाहिने फर्मुलाहरु, डेरिभेसनको स्टेप्सहरु सम्झनु नि । म किन यो थोत्रा दर्शन पट्टी लागिरा छु । किताबका कुनै पनि कुराहरु मगजमा छैनन । आफ्नो आँखा अगाडि पढिसकेका उपन्यासका पात्रहरु कराउन थाल्छन, बिचारहरु नाँच्न थाल्छन । उठेर छतमा जान्छु , बिलाउन नसकेर टिल्पिलाइरहेका एक दुई तारालाई हेर्दै आफुलाई अलिकती बिर्साउन खोज्दै दुई खिल्ली चुरोट एक सासमा भ्याईदिन्छु । परिस्थिती सहज भएझैँ लाग्छ । घडी हेर्छु; रातले दोश्रो प्रहर आधी पारिसकेछ । म एक्कासी तर्सन्छु, लौ न सात बजे त पुल्चोक पुग्नुछ । अनी रातलाई आँखा चिम्लेर जसोतसो पन्छाउने प्रयास गरेँ ।

भोलिपल्ट गर्हुगोँ पाहिलासाथ बोझिलो मन र एकचिम्टी आश लिएर पुल्चोक क्याम्पसको प्राङगणमा पुगेँ । वरिपरी आफुभन्दा दुई तीन ब्याच जुनियर भाईबहिनिहरु भेटिए । आफ्नै पालाका साथीहरु त धेरै कम थिए, एउटालाई टिप्न भ्याएँ अनी लुसुक्क अलिकती माथि सेर्पा दिदिको चिया पसलमा गएँ । त्यहाँ हामी दुईले एकछिन छलफल गर्यौ । साथीहरुको चर्चा भयो । उसले भन्यो: भुवन त अहिले NCELL को सिनियर ईन्जिनियर रे नि । सजला केईसीको HOD भैरे नि । बाँकी साथीहरु पनि खासै कोही नेपालमा छैनन । दिपेश पनि लेनोवोको सर्किट डिजाईनर भयो रे नि । जे होस प्राय केटाहरुले राम्रा राम्रा काम पाएछन यार । हामी मुला चाँही यही सड्ने भयौँ । तँलाई थाहा छ; अब चार चोटि भन्दा बढी त ईक्जाम दिन पनि पाईन्न रे नि । उसले अनुहार बिगार्दै धुवाँमा आफ्नो मलिन अनुहार छोपेर बस यती भन्यो । मलाई भने अनेकौं बिकिरणहरुले एक्कासी छोपेझैँ भएर आयो । “वास्तबमा एउटै पेपरको इक्जाम धेरै चोटि ह्यान्डल गरेपछी कन्फिडेन्स भन्ने कुरो मजाले मर्दोरैछ है” मैले समर्थन पाउने आशमा उसतिर हेर्दै भने । प्रतिउत्तरमा उसले मुन्टो हल्लायो । “तर छाड्दे, एकचोटी त हाम्रो पनि पास हुने दिन आउला नि ! अनी हामी पनि ‘जव’ पाउँछौ कि ?” मैंले परिस्थितीमा बिस्मायाधिबोधक र प्रश्न-चिन्ह एकैचोटी लगाईदिएं । “खै यार, तेरो स्थिती त सुध्रेला कि ! मेरो त उस्तै हो । ” आफुलाई साह्रै निरिह पर्दै उसले यत्ती भन्यो । चुरोट पिउँदै एकदुईवटा नयाँ कोईसनको ’boutमा चर्चा गरेर हामी इक्जाम हलतिर लाँग्यौ । हामी पुग्दा इक्जाम सुरु भइसकेको रैछ । कपी लिदैं थिएं । चिनेको एकजना भाईले, म तिर हेरेर मुखमन्डल ज्यादै नमजाले बिगारयो । मैले सोचें; साला, यो चोटि पनि लास्टै आँडे पेपर बनाएछ कि क्या हो, फेरी गुल्टेला जस्तो छ । जे होस्, एकचिम्टी आश लिएर मैले आफ्नो सिट समाँते । कोईसन पेपर हेर्दै थिएं; एक नम्बरको त सजिलै लाग्यो । TU को इक्जाममा बिशेषत: इन्जिनिएरिङ्गमा, सबै प्रश्न स्वात्तै पढिहाल्नु हुन्न । होपलेस भइन्छ । पढाई जस्तो होस; पेपर त गजबको बनाउँछ TU ले । मैले पछाडिका प्रश्नहरु त्यतिखेर पढ्दै पढिन । जबर्जस्ती आफ्नो मगजले भ्याएसम्म दुइ’टा प्रश्न गरेर भ्याएं । एक घण्टा बितिसकेछ । मैले टाउको उठाएँ; तुरुन्तै मेरो साथी त कपी बुझाएर मतिर एक फिक्का नजर मिल्काएर निस्कियो । अरु पनि निस्कने तरखर गर्न थाले । एक्कासी कोठामा म’सहित मात्र चारजना भयौं । तिनिहरु धमाधम लेख्दै थिए । म के गरुं मैले सोच्न सकिन । पछडिका बाँकी प्रश्नहरु पढें । चारवटा त मैंले नपढेको च्याप्टरबाट सोधेको रै’छ । अरु पनि सबै कन्सेप्चुअल । एक्कासी टाउको भारी भयो । केही लेख्न मन लागेन । एकैछिनमा सायद इक्जाम सेक्सनको ठुलोबडो भनौंदो आयो । “पर्स, मोबाईल त खल्तिमा छैन नि ?” उसले नयाँ प्रश्न दियो । मैले खल्ती छामे । वास्तवमा मेन्टल प्रेसर बढी भएर होला, प्रथम पटक मैंले मोबाइल र पर्स खल्तिमै राखेर इक्जाम दिन थालएको रै’छु । त्यसले चाल पाईहाल्यो । सालाका आँखा गिद्दका भन्दा तिखा छन । मैले मनमनै सोचें । उ हान्निदै मेरो छेउ आयो । पर्स, मोबाइल र कपी तिनैथोक खोस्यो । “सामन लिन, एक्जाम पछी डिन कार्यालय आउनु ” बाहिर निस्केपछी मतिर हेरेर ईशाराको भाषामा बस यती भन्यो ।

बोझिलो पाईलासाथ म भने तुरुन्तै अघिकै चियापसलमा पुगें । मेरो साथी कैयौ दिनको भोको जस्तो गरी चुरोट पिउदै थियो । “बहुत प्यास लाग्यो यार” मैले भनें । “पिर नगर, कोदोको पानी मगा’को छु ।” उसले काउन्टरतिर हेर्दै अलिकती रुन्चे हाँसो लिएर जवाफ दियो । “मैले त्यस्तो प्यास भनेको हो त !” मैले भने । “छाड्दे, मैले तलाई नचिनेको हो र । तँ जातले मात्रै त बाहुन होस नि ।” उ खिस्स हाँस्यो । सेर्पा दिदिले तुम्बा अनी अरु अरु पनि दुई जग लिएर आइन । क्रमस: हामी भरिदैं गयौं । अलिकती परिवर्तन पाएपछी मैलें भनें: “केटा, यती बिहानै, त्यसमाथी खाली पेटमा, असर त गर्दैन नि !” “त्यस्तो हैन, पेट खाली भएर क् भो त ? निराशाका काला बादलले हाम्रो भबिस्यका गेट त बन्द गरेका छन नि ।” एक गिलास सिनित्त पर्दै अर्को हातमा चुरोटको ठुटो समाउदै उसले मात्तिएको झिनो स्वरमा उत्तर दियो ।लगभग एक डेढघन्टा त्यता बिताएपछी फेरी पुल्चोक कलेजतिर लाँग्यौ । त्यसबखत मेरो भन्दा उसको हालत ज्यादै अनौठो थियो । समाएन भने बाँकाटे हान्न थाल्थ्यो । बाटमा केटी देखे मुख हेरेर खिस्स हांस्थ्यो । डिन कार्यालयमा हाम्रो हालत देखेपछी त्यहाँका कर्मचारीहरुले केही नबोली अघिका सामन फिर्ता दिए ।

“कहाँ हराएको दिनभरी ?” घरपुगेपछी बैनीले सोधी । “मर्निङ वाक” मैले उत्तर दिएं । भन्न त मिल्दैन होला तर त्यो समयमा उ पाँच छक्क परेकी थिई । मलाई बहुत थकाई लागेको थियो । बिहानको ह्याङओभर पनि अली अली जिउदै थियो । त्यसैले चाँडै नै सुत्ने तरखर गर्न थाँले । मनमा अनेकौँ कुरा खेल्न थाले । के म यो जन्ममा इन्जिनियर हुन सक्दिन ? किन सम्पूर्ण सम्भावनाहरु समयसंगै झनझन क्षिण हुँदै गैइरहेछन ? लाग्छ; मैले यो बिषय नै छान्न नहुने । इलेकट्रोनिक्स जो पायो त्यहिले पढ्ने बिषय हो र ! यसको लागि त मीठो लगाव चाहिन्छ, नियमित परिश्रम चाहिन्छ । तर यस्ता कुरा सोचेर मात्रै पनि अब के गर्नु र ! नपर्नु खाल्डोमा परिहालियो । तर हरेस खान हुन्न । भनिन्छ नि; मानिस सधैं आफ्नो लक्ष्य नजिक पुगेर फर्किन्छ । मलाई पनि यि निराशाका प्याकेटहरुले त्यही बिन्दुमा पुर्याउदै त छैनन नि । अर्कोचोटी फेरी मजाले पढेर इक्जाम दिए त पास कसो नभईएला र ! मैले निखुर रातमा सुन्यताको साथ लिएर आफुलाई दरो बनाउने कोशीस गरें ।

समय आफ्नै लयमा बित्दै थियो । साथीभाईले नयाँ-नयाँ ठाँउमा जव पाएको समाचार मेरो पनि कानमा ठोक्किईरहन्थे । कसै-कसैले बिदेशको भिषा पनि भेट्टाईरहेका थिए । कोही-कोहिको अनेकौ शिर्षकमा आयोजित पार्टिको पनि फाट्टफुट्ट निम्तो आईरहन्थ्यो । म भने सबै संग लुकेर हिंड्न खोज्थें । आफन्तहरुले भेट्टाईहाले सिनियर दादाको कन्सल्टेन्सिमा काम गर्दै’छु भन्दिन्थे । ज्यादै दु:खसाथ कटाएं, त्यसताकाका ति छ महिना । बिचमा त्यही बिषयको ईक्जामको लागि मैले पनि फर्म भरेको थिएँ । यसपली अलिक बिसेस तयारी गरें । मेरो साथी र म प्राय: संगै बसेर पढ्थ्यौ । भाग्यले अन्तमा साथ दियो भन्नुपर्छ । हामी दुबइले बत्तिस हान्यौ यानिकी पास भयौँ । त्यो समयमा हामी यती खुशी थियौं; बिचरा यि शब्दहरु निरिह छन, कसरी ब्यक्त गरुन । त्यही साँझ बा लाई पनि फोन गरें । “ल ल मेरो इन्जिनियर छोरा, बधाई छ । अब काम खोजेस, टन्न कमाएस, बुहारी भित्रायस अनी हामीलाई सुखसाथ राखेस ।” बा ले आफ्नो खुशी यस्तै यस्तै शब्द मार्फत व्यक्त गरे । त्यो साँझ बुहारी भन्ने शब्दले मलाई मन्द काउकुती लगायो । जीवनले नयाँ मोड लिन खोजेजस्तो भान भयो ।

भोलिपल्ट सुर्यको किरणसंगै हिजोअस्तिको भन्दा भिन्नै मन लिएर उठें । आफुलाई साह्रै ताजा र हल्का महसुस गरें । त्यसैदिन बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा गएर ट्रान्स्क्रिप्टको लागि अनुरोध गरें । आफ्नो कलेजमा सम्पूर्ण क्लिअरेन्स गराएँ । क्यारेक्टर सर्टिफिकेट पनि लिएं । नमीठै लागे पनि टिचरहरुको बधाई खाएं । यसपछी अब मेरो जिन्दगीको अर्को यात्रा सुरु भयो । जवको लागि थुप्रै ठांउहरु चहार्न थालें । बिदेश गैहाल्ने स्थिती मेरो थिएन । दिनसँगै मन कमजोर हुन खोज्दैथ्यो । आफुलाई जबर्जस्ती बाँध्दै नयाँनयाँ ठाउँमा नयाँनयाँ आश लिएर CV र सर्टिफिकेटको कपी छोड्न थाँले । कतैबाट पनि केही प्रतिकृया आएन । म झन्झन निराश हुँदै गएँ । साँझ एक टाईम SLC का विध्यार्थिलाई ट्युसन लिएर आफ्नो खर्च टार्न थाँले । अब भने घरबाट विवाहको कुरो चल्दा म आँफैनै तर्किएर हिड्थें । यसरी नै बिते मेरा त्यसपछिका छ महिना, एक बर्ष, डेढ बर्ष । साथीभाईहरुपनी अब त धेरै पर भईसकेका थिए । ईन्टर्नेट पनि धेरै काम युज गर्थें । एक हिसाबले भन्नुपर्दा म जीवनका सबै पक्षदेखी ज्यादै नराम्ररी थाकेको थिएं । साँझ-साँझमा बढी नै पीउन थालें । एक्लै-एक्लै फोहोर नदिका तिरहरु चाहर्दा रमाइलो लाग्थ्यो । त्यतैतिर टहलिन खोज्थें ।

एक साँझको कुरो हो । म ढिला घर आईपुगें । ब्यागमा CV र ट्रान्सक्रीप्टको कपी थियो । कोठाको एक कुनामा फाल्दिएँ । अनी क्यान्डिल लाईटमा Derek Humphry को “Let me die before I awake” को पन्ना पल्टाउन थालेँ । अक्षरहरु रक्ताम्य देखेँ । Paulo Coelho को “Veronica Decides to Die” को सुरुसुरुको अध्यायको आँफैले रेखाकिंत गरिराखेका केही वाक्य फेरी पढें । मन झन भारी भयो । गोविन्दराज भट्टराईको “सुकरातका पाईलाहरु” पल्टाएँ । आफु नै ‘अनन्त’ जस्तो लाग्यो । “The Bell Jar” झिकें । बस झिकें मात्रै अनी Sylvia Plath लाई मनमनै सोल्युट गरें । जीवन त यही लेखिकाले भोगेकी हो । वास्तविक सत्य सायद महाशुन्य नै हुनसक्छ । सिलिङ्तिर हेरें । केही थिएन । लोडसेडिङ्को मध्य समय थियो । मैनबत्ती मलाई उज्यालो दिन आफुलाई खत्तम पार्दै थियो । बाहिर झ्याउँकिरी कराएको प्रष्ट सुनिन्थ्यो । धेरै टाढा एक हुल कुकुरहरु एकनासले भुकिरहेका थिए । म झनझन आफुलाई बोझिलो अनुभब गर्दै थियो । निस्सार त उसै थिएं, झनै निस्सार अनुभुती गर्न थालें । एक्कासी चिच्याउझैँ भएर आयो । छतमा गएं; दुई खिल्ली चुरोट भ्याएँ अनी खै के जोश आयो । ओरिजिनल ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट लिएर म चुरोट पिउदैँ घर नजिकैको गल्ली निर गएँ । अनी ति दुवैलाई लाईटरको भारी सहयोग लिएर अन्त्य गरिदिएँ । हेर्दै थिएँ; मेरो सात बर्षको कमाई बिस्तारै खरानी भयो । मनमनै सोचेँ, संसार भौतिक छ, साह्रै भौतिक । आफु सकिएपछी मानिसलाई पनि त जलाइन्छ । कि गाडीन्छ । त्यो भनेको जीवन उपयोगहिन भएपछी हामीले लिएको या समयले दिएको अनौठो बिकल्प हो । मरेको बस्तु सजाएर घरमा किन राख्नु , बेकार घर गन्हाउँछ, मन गन्हाउँछ । त्यो प्रमाणपत्रको पनि अब के काम थियो र ? उपयोगहिन थ्यो । जलाएर ठीक गरेँ ।

त्यो खरानी भएपछी तन मन दुवै हल्का भयो । कसैको ’bout केही सोचिँन । मलाई भोलिको मतलब छैन । समय जसरी कटोस । समाजले जे भनोस । बाले गाली गरुन या नगरुन, मलाई बाल । तारा हेरेँ । भुईँमा हेरेँ । आफ्नै हत्केलामा थुक्न खोजे तर थुकिनं । फेरी किन हो कुन्नी खिस्स हाँसे । अनी ठुलै स्वरमा चिच्याउँदै घरतिर लाँगे । “अब म इन्जीनियर होइन, म इन्जीनियर होइन, म इन्जीनियर होइन…… ” घरछेउमा पुगेपछी हातको ठुटो चुरोट फल्दिएँ अनी कुल्चदैँ मनमनै सोचेँ: “धन्न, आफुलाई काउन्सिलमा रजिस्टर गरेनछु….. !”

Advertisements

Soaked lips


“Why are you looking at me so curiously?” she asked rigidly. “No more reasons but when I look at you, I always see your spirit with amazing desires and it is very pleasing to my eye.” I just replied softly. She smiled, stretched and stared at me. We both laughed; it was at about noon, we were at top of hill near our school. It was really incomparable creation of nature. The scenes were fully mesmerizing. She again described the territory of our relation there. She added,” We were friends, we are friends, we will be friends; just friends forever so there is no point in realizing mine poor spirit, u know???” “I know, but love is totally illogical and irrational too, it is more than our relationship, more than our feelings. We won’t know when and how it happens. In its many forms, it encompasses our whole way of living. It is reflected in our actions, the words we use and the way we experience our life. Your existence is also an expression of love, the only real expression it can have. Everything else is an illusion.” I explained her by using all the philosophies I had ever known. She surprised and again asked,” Asoc, what happened you today? Why are you being so emotional? Do u really love me?” For a moment we both became silent and then laughed loudly.
It was rainy season that’s why how could we predict when it would start to rain. There had been heavy raining, we both soaked fully. She had worn white kurta suruwal so she was deeply ashamed to stay in front of me too. I looked at her face straightly. She flushed. Water specks were dropping so gently from her beautiful hair. At the moment I remembered a song by Ram Krishna Dhakal,”…..keshbata tappa chuhine pani banu lagyo malai, pani banu lagyo ………..” then I mumbled the song playing with her hair. She smiled with impressing gestures and suddenly leaned towards me. I just supported her. It was raining but I had felt so hot. This kind of hotness with eager desire I had never felt. I saw her face and found there an amazing beauty. She had closed her both eyes. I avoided her hairs from her forehead and kissed there. She smiled with closed eyes and replied towards mine neck then she said with little voice,” please hold me.” I hold her tightly. I had experienced her every breath with each heartbeat. Then she asked ,”Asoc, do you love me?” I became unable to answer. She again said,” You had agreed me that love is illogical and irrational too and we won’t know when and how it happens.” “You are more than everything that I have ever wanted. I cannot and will not let you slip through my fingers” I whispered and took her in mine lap just like a little child and kissed in her lips. There was a rhythm in which we both were lost. Those were really rare moments. Suddenly she left and asked towards me,”Asoc, How is your love?” “Kali, it is just like a red red rose.” I answered, she again smiled.

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

ती अघोषित शब्दहरु


झरिमा परेर निथ्रुक्कै भिजेको भएपनी आज अनन्तलाई कतिपनी जाडो लागेको छैन । उ एकदमै रोमन्टिक मुडमा छ । बानेश्वरमा एक्कासी अन्जुलाई भेटेपछी उभित्र अनेकौ तरंग उम्लेर आए । उसमा एकाएक फुर्ती बढेर आयो । उसले आफ्नो जीवनको अनी यसका अनगिन्ती रहरहरुको ठुलो महत्व देख्यो । अन्जु, उसको स्कुले जीवनको एउटै कक्षामा पढ्ने साथी हो । १०-१० बर्षसम्म सगैँ पढेर पनि अनन्त, अन्जुसंग खुलेर बोल्न सकेको छैन, आजपनी उनिहरुबिच बोलचाल भएको त हैन तरपनी अन्जुले अनन्तलाई देख्नेबित्तिकै हात ठडाएर मीठो मुस्कान छोडेकी हुनाले उसभित्र एकाएक यो परिवर्तन आएको हो । मुस्कानको त्यो साह्रै स्निग्ध जादुले अनन्त वास्तवमै मोहित भयो । घर आइपुग्दा सांझ परिसकेको थियो, हतार हतार खाना खाएर उ आफ्नो कोठा भित्र पस्यो । आफ्नो पुरानो स्कुले जीवनको डायरी पल्टाएर उसले संरक्षित गरी राखेका केही फोटो हेर्न थाल्यो । अन्जुलाई बिशेष हेर्‍यो र त्यो समयका दिनहरु सम्झियो । आज उसले देखेको अन्जु र त्यो फोटोको अन्जुमा खासै भिन्नता पाएन । उही सरलता, उही हेराइ, मुस्कानमा उही जादु उ थप मर्माहत भयो । बिस्तारै सुत्ने तरखर गर्न थाल्यो तर उसलाई निद्रा लागेन । म कहिले सम्म अन्जुभक्त भएर बस्नु, किन मैंले भन्न सकिन । के म उसलाई माया गर्दिन र ! यदी सांच्चै चाहन्छु भने किन लजाइरहेछु त ? माया गर्नु पाप त होइन नि,उ यस्तै यस्तै कुरा सोच्न थाल्यो । कोल्टे फर्कियो, उही मुस्कान उसको सामुन्ने आयो, भिजेकी अन्जु अनी म्रिदुमुस्कान; उ साह्रै पग्लिएको थियो त्यसबखत । वास्तवमा त्यो मुस्कानले सबैचिज भन्दै थियो, त्यहाँ पक्कै सर्वस्व छ; नबुझ्नु मेरो कमजोरी हुन सक्छ । अन्जुको मुस्कान भित्रको अघोषित शब्दहरु उ खोतल्न थाल्यो । एकाएक उसको मनभरी हर्ष र उमंगको छालहरु उम्लेर आए । उसलाई राति नै अन्जुलाई भेटौं जस्तो भयो । मन थाम्न सकेन र उठेर गजल लेख्न थाल्यो:

मन भित्र आँधी चल्छ तिमी मुस्कुराउँदा ।
बिगतको काहानी जल्छ तिमी मुस्कुराउँदा ।

सक्दिन सम्हाल्न आफुलाई,छटपट छ पलपल
जीवनको पिर ब्यथा ढल्छ तिमी मुस्कुराउँदा ।

कतिन्जेल तड्पु भन, तिम्रो यो अभावमा
प्रकृतिको आभाष गल्छ, तिमी मुस्कुराउँदा ।

मनभित्र आँधी चल्छ तिमी मुस्कुराउँदा ।
बिगतको काहानी जल्छ तिमी मुस्कुराउँदा ।

संसारका यि सबै मानवनिर्मित भाषाका तरङगहरु अब अनन्तलाई वाहियात लाग्न थाले । उसले एकछिन भाषा रहितको बिछुट्टै आनन्दको संसारको कल्पना गर्‍यो, जुन संसारमा केवल भावनात्मक मान्छे हुनेछन, भावनाले त्यो संसारमा राज गर्नेछ । मानव मानव बिचको त्यो घिनलाग्दो संचारले संसार प्रदुषित हुने छैन । त्यहाँ आँखा आँखा बिच कुरा हुनेछ । एकले अर्काको संवेदना सहजै बुझिनेछ । सांच्चै मानवता त त्यो संसारमा पो पाइनेछ, अनन्त एक्लै मुस्कुरायो । उ वास्तवमै धेरै नै खुशी भयो, अन्जुको लागि यस्तै यस्तै शब्दको दरिलो सम्योजन गरेर एउटा मीठो पत्र लेख्यो, उपहार भने भोली किन्छु र त्यही ठाउँमा कुरिरहन्छु भन्ने सोचेर उ फेरी सुत्ने तरखरमा लाग्यो । भोलिपल्ट त्यही ठाउँमा गएर अन्जुको बाटो कुरिरह्यो, उसले सोच्यो अब एकैछिनमा अन्जु आउनेछे, हिजो जस्तै उत्तिकै मीठो, उत्तिकै सरलता र उही म्रिदुल मुस्कानका साथ । अनी म अगाडी बढ्नेछु र यो मनको सबै हलचल उसलाई प्रष्टसंग सुनाउनेछु । नभन्दै अन्जु आई, हिजो भन्दा झन राम्री भएर, उत्तिकै सरलताको साथ तर आज उ एकदमै हतारिएकी थिई, उसले अनन्तलाई देखी तर पनि कत्ती मुस्कुराइन, उ झन चाँडो चाँडो त्यो बाटो भएर पार हुन लागि । अनन्तलाई अचम्म लाग्यो, उसले सोचेको पनि थिएन यस्तो होला भनेर । हेर्दा हेर्दै अन्जु धेरै टाढा पुगी, उसको आँखा बिस्तारै धमिलो हुन लाग्यो । गहिरिएर अनन्तको आँखा नियाल्दा त्यहां प्रष्ट देख्न सकिन्थ्यो, मन फुटेर निस्केका भरोसाभित्रका ती दुर्लभ आँशुहरु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

भौतिक शरीर या आत्मिक मन


पुलमुनिको ब्यस्त सडक छेउ मैले उसलाई एक्कासी भेटें । मलाई देख्ने बित्तिकै उ खिस्स हांसी अनी अलिकती लजाएजस्तो गरी भनी “अं मैले चिंने” । चिन्नु के ठुलो कुरो भयो र ? पहिलो पटक भेट्दा अलिकती कुरा त गरेकै हो नि, त्यहां माथि वल्लो पल्लो घरमा बस्ने, पहिला कतै देखेको त थियौ होला नि ! मलाई यिनै कुराहरु भन्ने मन थियो तर केही भनिन । उ भन्दा बढी त म लजाएको थिएं । जबर्जस्ती आफ्नो हात अगाडि बढाउदै hi भनें, उ फेरी हांसी र हात मिलाई । मलाई थप लाज भयो । “कता पुगेर हो ?” मैले सोधें । “यहीं पत्तिर साथीलाई भेट्न आएको” उसले सजिलै उत्तर दिइ । “अनी तिमी कता नि ?” हठात प्रश्न गरी, शायद आफ्नो कर्तब्य पुरा गरेकी थीई होला । उ अलिकती हडबडाएको, हत्तारिएकी जस्ती देखिन्ती । मलाई के भन्ने भन्ने भयो । “अं म पनि साथीकोमा नै जान  लागेको… ” मैंले ढाट्दिए । वास्तबमा त्यहां वरिपरी मेरो कोही साथी थिएन । सांझको बेला त्यो सडक बिचरण गर्नु मेरो दिनचर्या नै हो । मलाई अब उसको अगाडि उभिरहन मन लागेन अथवा मन लागेर पनि सकिन । मैंले सिधै बिदा मांगे, सम्भवत: उ पनी यही चाहन्थी होला, हामी दुई छुट्टीयौं ।

दुई चार पाइला अगाडि बढेपछी मलाई पछुतो भयो, मैले किन ढांटे । म त्यत्तिकै घुम्दै थिएं, उसगैं फर्केको भएपनी भइहाल्थ्यो नि । छेउमा राम्रै होटेल थियो, चिया खानेकी भन्न सक्थें नि । किन भनिन ? मैले केही सोचिन । एक्कासी टाउको भारी भयो । हावाभरी उसका शब्दहरु नांच्न थाले, ” अं मैले चिने “, ” अनी तिमी कता नि ? ” । आंखामा, उसको उही भ्रमित रुप भेटें । हावाका शब्दहरु कानमा एकनासले ठोक्किरहेका थिए । मनमा अघी उ निकट हुंदा देखी उब्जेको डर त्यत्तिकै थियो । आफुवरिपरी, सम्भवत: सडकभरी उ छरपस्ट छरिएकी थीइ । उसका सम्पूर्ण काल्पनिक, बिभ्रमित आकृतिहरु टिपेर नयाँ रुप बनाउने चेस्टा भयो । त्यो फगत चेस्टा थियो । पछाडि फर्केर बोलाउकी जस्तो लाग्यो, फेरी लोकाचारले के भन्ला, उसको इज्जतको पनि त सवाल थियो, मैंले आंट गरिन ।   पहिलो पटक उसंग बोल्न पनि मैले कागजको अर्थात सभ्य भाषामा चिट्ठीको साहारा लिएको थिएं । सभ्यता र बिकासक्रमले मान्छेलाई कहाँ बाट कहाँ पुर्याएपनी कती परिवेसमा भने यस्तै खोस्टो  कागजको सहयोग लिनुपर्ने, वास्तवमै कागजको महत्व पनि यो आधुनिक भौतिक जीवनमा कत्ती कम छैन । उसलाई चिट्ठी लेख्दा भने मलाई कागजदेखी धेरै रिस उठेको थियो । एकमनले यो निर्जिव बस्तुप्रती मेरो यतिबिधी विश्वाश पलाएको देख्दा म दंग थिएं । तर लेख्दै जांदा कती कुराको अपुग जस्तो लाग्यो । यो कागजमा अनेकौं स्त्री पुरुषको सिङ्गो रुप अंटाउछ, करोडौं करोड बजेटको हिसाब अटाउछ, रत्नपार्कको सिङ्गो सभा अंटाउछ तर एउटा मान्छेको दुखी मन यसमा कहिल्यै अंटाउदैन । म उसलाई मेरो मन नै दिन चाहन्थें, मात्र विश्वासको लागि । नत्र उसले कसरी विश्वाश गरोस मेरा यि यावत बिगतलाई । बिगतमा मेरो एउटा हितेषी मित्र थीइ ” अस्मी ” । उसको बानीबेहोरा, चंन्चलेपन, कुरा गर्ने शैली मलाई साह्रै मीठा लाग्थे । उ आधुनिक जीवनकै एक अङ्ग भएपनी उसलाई आधुनिकताले कत्ती छोएको थिएन । जीवन, मर्म, प्यास, एकान्त र यो माया प्रितीलाई मैंले बुझ्नुछ; बारम्बार भनिरहन्थी । तर संसारले उसलाई केही बुझ्न दिएन, उ आफ्नो बाहुपाशको संसार पक्रन चाहन्थी, हो सायद यही थाहा पाएर होला, संसारलेनै उसलाई पहिल्यै पकडियो, अर्थात उसले यो संसार सदाका लागि छोडि । उसँग बिताएका क्षण, उसका अनेकौं तस्बिर मेरो आंखामा त्यस्तै ताजा रहेका छन जुन हिजो थिए । मलाई थाहा छ यि बिगतहरु वास्तवमा बिगत नै हुन तर पनि बिगतले बर्तमानको खुशीहरु खोसेको देख्दा मेरो भविष्य पलपल डराइरहन्छ ।

मलाई फगत यिनै कुराहरु उसको अगाडि भन्नु थियो, त्यसैले पत्रको सहारा लिएथें । अस्मी र उसको अनुहार पूर्ण रुपमा मिल्छ, प्रथमा पटक देख्दा मैले उसलाई अस्मीकै कोही नातेदार होला भन्ने सोचेथें, तर आज थाहा पाइसकें; उसले त अस्मिलाई चिन्दिन रे । उ पश्चिमकी परिछ अस्मी पुर्वकी । मैले चिट्ठीमा उसलाई सच्चा साथीको लागि प्रस्ताव गरेको थिएं, उसले हांस्दै सो स्विकारेकी थिई जुन मैले फोनमा अनुभव गरेथें । ततपश्चात उसले के सोची त्यो मलाई थाहा छैन तर जब म उसलाई देख्छु मेरो बिगत त्यत्तिकै पल्टन खोज्छ, अतितका आकृतिहरु तंछाडमछाड गर्दै अगाडि आउछन अनी म केही बोल्न सक्दिन, पूर्ण सिद्दिएको आभाष हुन्छ । यो भग्न समयमा म साह्रै दुबिधामा पर्छु र सोचिरहन्छु, ‘ मान्छेको भौतिक शरीर ठुलो या आत्मिक मन ‘ । आखिर सत्य के हो र म के खोजिरहेछु त्यो थाहा छैन फगत मेरो यात्रा जारी छ, म कुदिरहेछु कुदिरहेछु …

प्रेसरकुकर


आज पनि बूढाले छिमेकिको घरमा प्रेसरकुकर कराएको सुन्यो । उसलाई आफुसंग पनि एउटा ठुलो प्रेसरकुकर भईदिएको भए हुन्थ्यो जस्तो लाग्यो, तर उ एक्लो गरीब जसको गरीबी प्रेसरकुकरभन्दा धेरै ठुलो थियो । मनलाई जबरजस्ती बुझाएर बुढो भरेलाई तरकारी,सिंस्नुको मुन्टा खोज्न घरनजिकै दोबाटोमुनिको झ्यांगतिर लम्क्यो । दोबाटोनजिकै क्रान्तिकारीहरुले रातो झन्डा राखेका थिए,बुढोले एकटकले एकैछिन त्यसलाई हेर्‍यो तर केही सोचेन । सिंस्नुको मुन्टा टिप्दै गर्दा उसले त्यही झ्यांगमुनी आफुभन्दा ५ हात पर एउटा ठुलो उसको टाउको जत्रै भर्खरै किनेको जस्तो लाग्ने गतिलो प्रेसरकुकर देख्यो । अहिले उसको नजिकै कोही नभएकोले बुढोले मौका छोप्ने बिचार गर्‍यो । प्रेसरकुकर टिपेर बुढो एक हात मात्रै के लम्केको थियो, त्यो कुकर गाउं नै थर्कनेगरी पड्कियो, उसको घटनास्थलमा नै मृत्‍यु भयो । 

कुर्सी


उसलाई देखेर कुर्सी खुशी भयो र मरिमरी हांस्यो । “किन हांसेको ?” उसले सोध्यो ।
“कुइन्टलको मान्छे बोक्दाबोक्दा थाकेर हत्तु परेको थिएं । उसको ठाउंमा तपाईं दुब्लो, पातलो, र कम तौल भएको मान्छे देखेर खुशी भएको नि।” कुर्सिले भन्यो ।
“ए” उसले यत्ती मात्रै भन्यो ।
तर कुर्सिको खुशी धेरै दिन टिकेन । उसको दुखी हुनेक्रम बिस्तारै बढ्दै गईरहेको थियो।          
                                             लेखक: हरिप्रसाद भण्डारी